गृहपृष्ठ डायमनशमशेर साहित्यिक पुरस्कार तीन स्रष्टालाई
डायमनशमशेर साहित्यिक पुरस्कार तीन स्रष्टालाई
काठमाडौँ । यस वर्षको डायमनशमशेर राणा साहित्यिक पुरस्कार/सम्मान तीन जना स्रष्टालाई प्रदान गरिएको छ ।
उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा राणाका विषयमा विद्यावारिधि गर्नुभएका डा टीकाराम पोखरेल, उहाँका विषयमा ‘डायमनश्री’ महाकाव्य लेख्नुभएका डा माधव वियोगी र राणाका विषयमा खोज अनुसन्धान गर्नुभएका उपप्रा डा विष्णु न्यौपानेलाई पुरस्कृत गरिएको हो । तीनै जनालाई जनही रु २५ हजार नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
त्यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले ऐतिहासिक उपन्यास लेखनका साथै नेपालमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापनामा राणा परिवारले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।
ऐतिहासिक उपन्यास लेखनमा डायमनशमशेरसँग तुलना गर्न योग्य उपन्यासकार नेपालमा अरु नभएको उनले बताए । डायमनशमशेर साहित्य रचनाका साथै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय भएर प्रजातन्त्र स्थापना र पुनःस्थापनामा पनि योगदान गरेको उनले स्मरण गरे।
राणा २००८ सालदेखि २०३७ सम्म कांग्रेस ललितपुरको सभापति हुन । त्यसपछि उहाँ काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला हेर्ने गरी कांग्रेस नेतृत्वमा रहेको थिय ।
साहित्यकार डा तुलसीप्रसाद भट्टराईले प्रजातन्त्र स्थापनाका लागि लाग्दा डायमनशमशेरको तराई क्षेत्रमा ५०० बिघा र काठमाडौँ उपत्यकामा १०० रोपनी जग्गा सर्वस्वहरणमा परे पनि अहिलेसम्म चर्चा नगुमेको बताए । समालोचक प्रा डा गोविन्दराज भट्टराईले ‘म्याजिक रियालिजम’ अर्थात् चामत्कारिक यथार्थवादमा आधारित भएर डायमनशमशेरले ‘गृहप्रवेश’ उपन्यास लेखेको बताए । उनले भित्र्याएको यो नेपाली साहित्यकै नयाँ तत्व भएको पनि उनले सुनाए ।
साहित्यकार अनिता कोइरालाले अन्धकार र अराजकता हटाउन आफ्नै पारिवारिक शासनविरुद्ध लेख्ने, बोल्ने साहित्यकारका रुपमा डायमनशमशेर स्थापित भएको बताए।
कार्यक्रममा पुरस्कृत व्यक्तित्वत्रय वियोगी, न्यौपाने र पोखरेलले डायमनशमशेरको व्यक्तित्व र कृतित्वकाबारेमा प्रकाश पारेका थिय ।
प्रकाशित समय : १८:३२ बजे



















