global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो ।

जाँचका क्रममा म्यानिफेस्टमा उल्लेख नभएका ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परेका हुन् ।

बरामद गरिएका सामग्रीमा २२ थान ठूला र ४४ थान साना नौगेडी, १४ थान २१ गेडी नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८÷१८ थान सिङ्गल र डबल ब्रोच, ५ थान ठूला र २ थान साना शिरफूल, १६ थान नेपालको झण्डा अंकित ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार तथा १ थान त्रिशूल रहेका छन् ।

प्रहरीका अनुसार उक्त सामग्री बौद्धस्थित युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका गरगहना तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु