global ime bank Long Banner Ad

गृहपृष्ठ चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

काठमाडौं । स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू सस्ता चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाका कारण दबाबमा परेको देखिएको छ । यही दबाबको प्रत्यक्ष असर नेपालकै पुराना ट्रान्सफर्मर उत्पादकमध्ये एक निक ब्रान्ड निर्माण गर्ने कम्पनीको व्यवसायमा परेको छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको हालैको मूल्याङ्कन प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो उत्पादन क्षमताको केवल सात प्रतिशत मात्र उपयोग गर्न सकेको छ ।

अघिल्लो आर्थिक वर्षमा क्षमता उपयोग १७ प्रतिशत थियो । वार्षिक १८ हजार युनिट ट्रान्सफर्मर उत्पादन गर्न सक्ने उद्योगको ठूलो हिस्सा खाली बस्दा स्थिर लागत बढेको र त्यसले व्यवसायको प्रतिफलमा असर गरेको प्रतिवेदनले औँल्याएको छ ।

उद्योगको सञ्चालन आम्दानी पनि उल्लेख्य रूपमा घटेको छ । आर्थिक वर्ष २०८१/८१ मा १ अर्ब ८३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी घटेर २०८१/८२ मा करिब ९३ करोड ५० लाख रुपैयाँमा झरेको छ । नेपाल विद्युत् प्राधिकरणका ठूला आयोजना कम हुनु र व्यवसाय मुख्यतः निजी क्षेत्रका साना आयोजनामा सीमित रहनु यसको प्रमुख कारण मानिएको छ ।

निर्याततर्फ कम्पनीले विगतदेखि भुटानमा ट्रान्सफर्मर पठाउँदै आएको भए पनि गत आर्थिक वर्षमा निर्यात अपेक्षाकृत कम भएको जनाएको छ । चालु वर्ष पुनः निर्यात विस्तार गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ । यद्यपि व्यवसायमा केही सकारात्मक संकेत पनि देखिएका छन् । प्रतिवेदनअनुसार सन् २०२६ मेसम्मका लागि कम्पनीसँग करिब ९५ करोड ७० लाख रुपैयाँ बराबरका खरीद आदेश सुरक्षित रहेकाले आगामी अवधिमा आम्दानी सुधार हुने अपेक्षा गरिएको छ । तर कच्चा पदार्थको मूल्यमा उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा हुने परिवर्तन तथा विदेशी उत्पादकसँगको मूल्य प्रतिस्पर्धा कायम रहेसम्म स्वदेशी ट्रान्सफर्मर उद्योगको नाफा सुधार सहज नहुने प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु