global ime bank Long Banner Ad

गृहपृष्ठ मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताइन् ।

“वडा कार्यालयमार्फत किसानहरूबाट माग सङ्कलन गरेर सङ्ख्या निर्धारण गरी पालिकाले विनियोजन गरेको बजेटको सीमाभित्र रहेर ठेक्का प्रतिस्पर्धाबाट मिनीटिलर खरिद गरेर वितरण गरेका हौँ”, उनले भनिन्, “खेतबारी खनजोत गर्दा समयको बचत र लागत घटाउने उद्देश्यले कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।”

डिजेलबाट चल्ने ५७ र पेट्रोलबाट चल्ने २४ वटा ट्याक्टर वितरण गरिएको हो । क्षमता र गुणस्तरअनुसार ट्याक्टरको मूल्य प्रतिगोटा ३५ हजारदेखि रु ४८ हजारमा आपूर्ति गर्ने कबोलेका आपूर्तिकर्ता छनोट भएका थिए । तोकिएको मूल्यमा किसानले ४० प्रतिशत रकम तिरेका हुन् भने ६० प्रतिशत गाउँपालिकाले भुक्तानी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालका अनुसार यान्त्रिक हलो खरिद र वितरणका लागि मालिका गाउँपालिकाले चालु आव २०८३र८४ मा रु ३२ लाखभन्दा बढी विनियोजन गरेको थियो । गाउँपालिका र वडा कार्यालयले यान्त्रिक हलो वितरणका लागि विनियोजन गरेको बजेटलाई एकीकृत गरेर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनीटिलरको प्रयोग बढेको छ । एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनीटिलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झन्झट हटेको किसानहरूको अनुभव छ । मिनीटिलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झन्झट हटेको छ । मिनीटिलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको छ ।

प्रकाशित समय : ०५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु