global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तरराष्ट्रिय योग दिवस सन्दर्भः आरोग्य पर्यटन पर्यटनमा योग

अन्तरराष्ट्रिय योग दिवस सन्दर्भः आरोग्य पर्यटन पर्यटनमा योग

अन्तरराष्ट्रिय योग दिवस सन्दर्भः आरोग्य पर्यटन पर्यटनमा योग

काठमाडौँ । आधुनिक चिकित्सा पद्धतिले शारीरिक रोगहरुको निराकरणमा अतुलनीय प्रगति हासिल गरे तापनि आन्तरिक बेचैनी, खराब आचरणबाट सृजित समस्याहरू र आत्मिक शून्यताको पूर्ण समाधान ठम्याउन सकेको देखिँदैन ।

यही धरातलमा टेकेर हाल विश्व परिवेशमा आरोग्य पर्यटनको दायरा निकै द्रुत गतिमा फैलिँदै गइरहेको अवस्था छ । आधुनिक जीवनसँगै धेरै मान्छेहरूको जीवनशैली परिवर्तन भएको छ । जसका कारणले मान्छेहरुमा धेरै रोगहरु उत्पन्न भएका छन् । सँगसँगै जीवनको गुणस्तर नै कम भएको अवस्था छ । यसरी आकुलव्याकुल भएर मान्छेहरु अब यात्राका लागि नै आरोग्यता रोज्ने परिस्थिति बनेको छ । मानिसहरू धेरै कारणले यात्रा गर्ने गर्छन् । कोही सौन्दर्यका लागि यात्रा गर्छन् कोही ट्रेकिङका लागि यात्रा गर्छन् कोही खेलकुदका लागि यात्रा गर्छन् । भने कोही चाहिँ आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन र रोगहरु कम गर्नका लागि पनि यात्रा गर्छन् । स्वास्थ्यका लागि गरिने यात्रालाई आरोग्य पर्यटन भनिन्छ । आरोग्य पर्यटनले रोगको उपचार मात्र नभएर व्यक्तिको स्वास्थ्य रक्षा गर्न जीवनशैली सुधार गर्न र जीवनको गुणस्तर वृद्धि गर्नलाई सहयोग गरिरहेको हुन्छ । ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार, आरोग्य पर्यटन भनेको आफ्नो व्यक्तिगत कल्याण र स्वास्थ्यलाई कायम राख्न वा बढावा दिन गरिने यात्रा हो । यो भनेको शारीरिक मानसिक भावनात्मक तथा आध्यात्मिक हिसाबले स्वास्थ्यको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले गरिने यात्रा हो । आरोग्य पर्यटनअन्तर्गत योग ध्यान आयुर्वेद प्राकृतिक चिकित्सा स्वस्थ आहार, स्पा डिटक्सजस्ता गतिविधिहरु पर्दछन् ।

पछिल्लो समय आरोग्य पर्यटन निकै विस्तार भएको छ । २०३० सम्म यसले विश्व पर्यटनको २० देखि २५ प्रतिशतसम्म हिस्सा ओगट्ने आकलन गरिएको छ । आरोग्य पर्यटन भनेको स्वास्थ्य पर्यटनकै एउटा अंश पनि हो । आरोग्य पर्यटनको बजार तथ्याङ्क हेर्दा, आरोग्य पर्यटनमा नेपाल १४३ देशमध्ये ९१औँ स्थानमा रहेको छ।

नेपालको आरोग्य पर्यटन अर्थतन्त्र करिब २.०२ अर्ब अमेरिकी डलर बराबर छ । आरोग्य पर्यटकले अन्य पर्यटकको तुलनामा ३० देखि ३५ प्रतिशत बढी खर्च गर्ने अध्ययनले देखाएको छ । आरोग्य पर्यटनमा योगको निकै ठूलो भूमिका छ । योगले व्यक्तिलाई स्वस्थ रहन र रोग भइसकेको अवस्थामा त्यसको व्यवस्थापन गर्न सहयोग गर्छ। त्यसैले आजकाल आरोग्यका लागि यात्रा गर्ने क्रममा योग एउटा अभिन्न अंश पनि बनेको छ । योगले आरोग्य पर्यटनमा निम्न कुराहरुमा सहयोग गर्न सक्छः

१. मानसिक आरोग्यता र तनावबाट मुक्ति

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले तनाव एक महामारीको रुपमा रहेको छ । योसँगै हरेक व्यक्तिमा तनाव एन्जाइटी डिप्रेसनजस्ता मानसिक समस्याहरु देखिँदै आएका छन् । फलस्वरूप धेरै आरोग्य पर्यटनमा तनाव व्यवस्थापन र मानसिक आरोग्यता महत्त्वपूर्ण विषय बनेको छ । योगले मानसिक तनाव कम गर्दै चिन्ता रोग डिप्रेसनजस्ता रोगहरूलाई पनि कम गर्न सहयोग गर्छ भन्ने विभिन्न अनुसन्धानहरु छन् । रोगले खुसी हर्मोन बढाउने तथा तनाव हर्मोनलाई कम गर्ने गरी यस्ता अवस्थाहरूमा फाइदा पु¥याउने प्रशस्त अध्ययनहरु भएका छन् । यसैलाई आत्मसाथ गरेर धेरै ठाउँमा योगका रिटिटहरु पनि सञ्चालन भएका छन् जसले मानसिक आरोग्यता र तनावको मुक्तिका लागि विशेष कार्य गर्दछन् ।

२. जीवनशैली रूपान्तरण

पछिल्लो समय जीवनशैली जन्य विभिन्न रोगहरू उत्पन्न भएका छन् । जीवनशैलीजन्य रोगहरूमा मधुमेह, उच्च रक्तचाप, मोटोपन, शरीरका विभिन्न दुखाइहरु, डिप्रेसन, एन्जाइटी, पेटका रोगहरु आदि पर्दछन् । यी रोगहरूको प्रमुख कारण हेर्दा जीवनशैली नराम्रो हुनु नै प्रमुखका अवस्था छ । यसका लागि मान्छेहरुलाई जीवनशैली परिवर्तन गर्नुपर्छ भन्ने थाहा छ तर जीवनशैली परिवर्तन गर्नलाई अप्ठ्यारो छ र त्यसका लागि चाहिँ एकदमै शान्त वातावरणमा मान्छेले कसरि जीवनशैली व्यवथापन गर्ने भन्ने जस्ता कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ । अहिलेको जीवनशैली व्यवस्थापन भनेको डर मा आधारित छ र तिमीले यो यो जीवनशैली परिवर्तन गरेनौ भने यो यो रोग लागेर मर्न सक्छौँ भन्ने डरले चाहिँ जीवनशैली व्यवस्थापन पूरै दीर्घकालीन रुपमा व्यवस्थित हुँदैन भन्ने छ । योगले खुसीमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ जसले गर्दा चाहिँ यो दीर्घकालीन रुपमा फाइदाजनक छ भनेर प्रमाणित भएको अवस्था छ । त्यसैले पछिल्लो समयमा आफ्नो जीवनशैलीलाई रूपान्तरण गर्नका लागि योगको भूमिकालाई लिएर विभिन्न योग रिट्रीट केन्द्र तथा आश्रममा आउने चलन छ । योगले रोगरोधक, स्वास्थ्यप्रवद्र्धक, उपचारात्मक, पुनःस्थापनात्मक चारै पक्षमा कार्य गर्छ । नेपाल आरोग्य पर्यटनको हब बन्ने सम्भावना उच्च छ ।

नेपालको भौगोलिक विविधताअन्तर्गत तराईको न्यानो फाँटदेखि मध्य पहाडको समशितोष्ण र हिमाली भेगको स्वच्छ शीतल वातावरण योग साधनाका लागि बरदान सावित छन् । विश्वव्यापी आरोग्य पर्यटनको रङ्गमञ्चमा नेपालले योगलाई आफ्नो मुख्य पहिचानअर्थात् ब्रान्डका रूपमा स्थापित गर्न सक्ने प्रवल सम्भावना देखिन्छ । वर्षको बाह्रै महिना ऋतुअनुसारका फरक–फरक प्राकृतिक परिवेशमा योग रिट्रिटहरू सञ्चालन गर्न सकिने अनुपम पर्यावरणीय धरातल नेपालसँग सुरक्षित छ ।

३. उच्चस्तरको साधना

हिमालयको काखमा बसेर गरिने योग र ध्यानलाई विश्वका धेरै साधकहरूले एउटा विशेष अवसर र सौभाग्यका रूपमा लिने गरेका छन् । नेपाल बुद्ध र विभिन्न ऋषिमुनिहरूको साधना गर्ने स्थल भएकाले यहाँको वातावरणमा नै बेग्लै प्रकारको आध्यात्मिक ऊर्जा पाइन्छ । यसले गर्दा आरोग्यताका लागि यात्रा गर्ने विदेशी पर्यटकहरू यहाँ निकै आकर्षित हुने गरेका छन् । लुम्बिनी, पोखरा, काठमाडौँका उच्च स्थान र हिमाली भेगमा विशेष योग रिट्रीट तथा आरोग्य केन्द्रहरू निर्माण गर्न सकेमा नेपालमा उच्चस्तरका धेरै पर्यटक ल्याउन सकिने प्रशस्त आधारहरू छन् ।

४. प्राकृतिक र वैकल्पिक उपचार सँगको संयोजन

आरोग्य पर्यटनभित्र आयुर्वेद, प्राकृतिक चिकित्सा र स्पा थेरापीहरू पर्दछन् । योग यी सबै विधाको परिपूरक हो । उदाहरणका लागि, आयुर्वेदको डिटक्स ९पञ्चकर्म० गरिरहेको व्यक्तिलाई शरीर हलुका बनाउन र ऊर्जा प्रवाह राम्रो गर्न योग आसनहरू गराइन्छ । यसले गर्दा आरोग्य पर्यटनका प्याकेजहरू अझ बढी प्रभावकारी बन्छन् ।

५. दीर्घकालीन र गुणस्तरीय पर्यटनको प्रवद्र्धन

आरोग्य पर्यटनको एक महत्त्वपूर्ण अवयवका रूपमा योगले पर्यटन क्षेत्रको आर्थिक सबलीकरणमा विशेष योगदान दिइरहेको पाइन्छ । सामान्यतः अन्य पर्यटकहरू तीनदेखि पाँच दिनसम्म मात्र भुल्ने गरे तापनि योग र आरोग्यताका अभ्यासीहरू प्रायः एक हप्तादेखि एक महिना वा सोभन्दा लामो अवधिसम्म बस्ने गर्छन् । आफ्नो स्वास्थ्य र खानपानप्रति सचेत रहने यस्ता पर्यटकस्तरीय सेवाका लागि बढी खर्च गर्न इच्छुक हुने हुँदा यसबाट पर्यटन उद्योगले उल्लेख्य लाभ लिन सक्छ । योगका लागि शान्त र नैसर्गिक वातावरण अपरिहार्य हुने भएकाले यस्ता केन्द्रहरू सहरभन्दा टाढा ग्रामीण वा जङ्गलको निकट क्षेत्रमा स्थापना हुन्छन् । यसबाट पर्यटकीय लाभ स्थानीय स्तरसम्म पुगी ग्रामीण क्षेत्रमा रोजगारीका अवसरहरू सृजना हुन्छन् । सरकारले नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने १०० बुँदे कार्ययोजनामा ‘योग, ध्यान, आयुर्वेद’ ब्रान्ड बनाऊने घोषणा गरेको छ, नेपाल आरोग्य वर्ष २०२७ ले यो ब्रान्ड बनाउँदैछ । योग आरोग्य पर्यटनको मूलमन्त्र हो ।

प्रशस्त सम्भावनाहरूका बाबजुद आरोग्य पर्यटनको रङ्गमञ्चमा योगको भूमिकालाई संस्थागत र सुव्यवस्थित तुल्याउन केही चुनौती तथा अवरोधहरू विद्यमान देखिन्छन् :

अन्तरराष्ट्रिय प्रमाणीकरण र ब्रान्डिङको चुनौती

नेपालमा योग प्रशिक्षणका अनेकौँ केन्द्रहरू सञ्चालित भए तापनि तिनलाई वैश्विक मापदण्डअनुरूपको ’वेलनेस रिसोर्ट’ वा प्राज्ञिक एकेडेमीको रूपमा चिनाउन सकिएको छैन ।

२. विशिष्टीकृत वैज्ञानिक पाठ्यक्रमको अभाव

परम्परागत आसन र अभ्यासमा मात्र सीमित नभई विदेशी साधकहरूको शारीरिक तथा मानसिक अभिलाषा (जस्तैः एन्टि–एजिङ, शोधन प्रक्रिया वा उपचारात्मक योग) लाई सम्बोधन गर्ने वैज्ञानिक प्याकेजहरूको कमी महसुस गरिएको छ ।

पूर्वाधार विकास र सहज पहुँचः

योग साधनाका लागि उपयुक्त एकान्त र शान्त गन्तव्यहरूसम्म पुग्ने यातायात सञ्जाल भरपर्दो नहुँदा उच्चस्तरका अन्तरराष्ट्रिय पर्यटकहरू यस्तो सेवा लिन सङ्कोच मान्ने परिस्थिति छ ।

विश्व परिवेशमा आरोग्य पर्यटन केवल सौखिन विलासिता मात्र नभई दैहिक एवं मानसिक सन्तुलन कायम राख्ने अपरिहार्य आवश्यकताका रूपमा उदय भएको छ । यस सन्दर्भमा, यस मानवीय अभिलाषालाई सम्बोधन गर्ने सर्वोत्कृष्ट एवं वैज्ञानिक कडीका रूपमा योगको भूमिका अद्वितीय देखिन्छ ।

आरोग्य पर्यटनको यस बृहत्तर रङ्गमञ्चमा योगलाई आधारभूत स्तम्भका रूपमा प्रतिष्ठित गर्न नेपालले ‘हिमालयन वेलनेस’ को नवीन अवधारणालाई आत्मसाथ गर्नु श्रेयस्कर देखिन्छ । राज्यको नीतिगत तहबाटै योग पर्यटनलाई उच्च प्राथमिकतामा राख्ने, वैश्विक मापदण्डका वेलनेस रिसोर्टहरूलाई प्रवद्र्धन गर्ने र आधुनिक चिकित्सा प्रणालीसँग योग विज्ञानको तादात्म्य मिलाउँदै एकीकृत चिकित्सा पद्धतिको मार्ग प्रशस्त गर्नसकेमा यसले राष्ट्रिय अर्थतन्त्र र जनस्वास्थ्यको क्षेत्रमा युगान्तकारी रूपान्तरण सूत्रपात गर्न सक्ने प्रवल आधारहरू सुनिश्चित गर्दछ ।

(लेखक योग विशेषज्ञ हुनुहुन्छ)

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु