global ime bank Long Banner Ad

गृहपृष्ठ धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पु-यायो : निलम पौडेल (भिडियो सहित)

धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पु-यायो : निलम पौडेल (भिडियो सहित)

धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पु-यायो : निलम पौडेल (भिडियो सहित)

काठमाडौं । पहिलो सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलले आफ्नो यात्राबारे सुरुको संघर्ष, आर्थिक चुनौती, सामाजिक भेदभावदेखि सगरमाथा आरोहणसम्मका अनुभव सार्वजनिक गरेकी छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले उनले सुरुमा टिम निर्माणदेखि विभिन्न व्यक्ति र संस्थासँग सहयोग माग्दा अपेक्षित साथ नपाएको गुनासो गरेकी छन्।

उनले भनिन्, ‘हाम्रो यो यात्रा २०२० देखि सुरु भएको हो। मैले टिम बनाएर सुरु गर्दा नै कतिपयले बिचमै धोका दिनुभयो। मिटिङहरूमा कुरा भए पनि पछि फोन नउठाउने, मेसेजको जवाफ नदिने जस्ता व्यवहार भयो ।’

उनका अनुसार ट्रान्सजेन्डर भएकै कारण काम गर्न नसक्ने भनेर अनुमान गरिएको र धेरै ठाउँमा प्रस्ताव लिएर जाँदा पनि अपेक्षित सहयोग नपाएको उनले बताइन्।

‘मानिसहरूले मलाई ट्रान्स भएकै कारण गर्न सक्दिन होला भनेर सोच्नुभयो। तर पछि केही व्यक्तिहरूले साथ दिए र प्रपोजल बनाएर सहयोग पनि गने,’ उनले भनिन्।

आर्थिक कठिनाइका कारण व्यक्तिगत बचत, सम्पत्ति बिक्री र विभिन्न माध्यमबाट खर्च व्यवस्थापन गर्नुपरेको उनले उल्लेख गरिन्।

सगरमाथा आरोहणको अनुभव सुनाउँदै उनले भनिन्, ‘हामी बेस क्याम्प पुग्दा धेरै कठिन थियो। माथि जाँदा मान्छेहरूको अवस्था देखेर डर पनि लाग्यो, तर मैले सक्छु भन्ने आत्मविश्वास आयो ।’

उनले आफ्नो सफलतालाई व्यक्तिगत मात्र नभई समुदायका लागि प्रेरणादायी उपलब्धि भएको बताउँदै अवसर पाए ट्रान्स समुदायले पनि ठूला लक्ष्य हासिल गर्न सक्ने उल्लेख गरिन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेललाई बधाई दिँदै उनको उपलब्धिलाई व्यक्तिगत मात्र नभई समुदायको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

उनले भनिन्, ‘आफ्नो ठाउँमा आफ्नो काम गरेर नै सबैजना अगाडि बढ्ने हो। इट्स अल अबाउट सेलिब्रेटिङ यु एन्ड योर अचिभमेन्ट। कति गाह्रो कुरा हो भनेर हामीले कहिलेकाहीँ बुझ्दैनौँ।’

उनले निलम पौडेलको सगरमाथा आरोहणलाई व्यक्तिगत संघर्षसँगै समुदायका चुनौतीहरूलाई पनि जितेको उदाहरण भएको उल्लेख गरिन्।

श्रेष्ठले सरकार र समाज दुवै तहमा समावेशीकरण र प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्दै यसलाई सकारात्मक सुरुवातको रूपमा लिनुपर्ने बताइन्।

उनले भनिन्, ‘सरकारको नाम मात्रै परिवर्तन होइन, प्रतिनिधित्व पनि देखिन थालेको छ। यो टोकनिज्म मात्र होइन, वास्तविक परिवर्तनको संकेत हो ।’

सांसद श्रेष्ठले निलम पौडेलको उपलब्धिलाई ऐतिहासिक भन्दै यसले अन्य सीमान्तकृत समुदायलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘यो सगरमाथा आरोहण मात्र होइन, इतिहास निर्माण गर्ने क्षण हो।’

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु