गृहपृष्ठ प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा ध्यानाकर्षण
प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छन ।
सांसद जयपति रोकायाले प्रस्तुत बजेटले हुम्ला र समग्र कर्णालीलाई पछि पारेको बताउँदै कर्णाली क्षेत्रमा पनि पर्यटकीय संरचना निर्माण गर्न माग गर्नुभयो । यातायातको सुविधिबाट हुम्लालाई सहज बनाउन सकिए धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटक उल्लेख्य सङ्ख्यामा भित्र्याउन सकिने उहाँको भनाइ थियो । हुम्लाबाट कैलाश मानसरोबर जाने धार्मिक पर्यटकको सङ्ख्या धेरै हुने गरेकाले उचित वातावरण बनाइनुपर्ने माग पनि सांसद रोकायाको थियो ।
सांसद आशिष गजुरेलले यस वर्षको मनसुन सुरु हुनलागेको अवस्थामा राहत प्रतिकार्यतर्फ सरकारको तयारीका बारेमा जानकारी माग गरे ।
नेपालको पश्चिम भागमा अबको १० दिन लगातार सुक्खा भई तातो हावा चल्ने पूर्वानुमान सार्वजनिक भएको अवस्थालाई सम्बोधन गर्न चालिएको पूर्वतयारीका बारेमा गृहमन्त्रीको ध्यानाकर्षण गरे ।
सांसद साजिदा खातुन सिद्धिकीले गृह मन्त्रालयले छ वर्षअघि गरेको सर्वेक्षणअनुसार सात प्रतिशत महिलासहित एक लाख ३० हजार युवाले वार्षिक लागुऔषध प्रयोग गर्ने गरेको तथ्यलाई दृष्टिगत गरी त्यस किसिमको कुलतबाट जोगाउनेतर्फ सरकारको ध्यान जाओस् भने ।
सांसद नरेन्द्रकुमार गुप्ताले सुस्ता नेपालको भूमि हो, यसमा दुईमत नरहेको उल्लेख गर्नुहुँदै यो समस्या कूटनीतिक रूपमा समाधान गरिनुपर्ने बताए । भारतीय ‘एसएसबी’ले सुस्ता क्षेत्रमा नेपालीलाई दुःख दिँदै आएको र त्यसको प्रतिवादमा उत्रने नेपाली दाजुभाइ, दिदीबहिनीलाई सम्मान गर्नुपर्ने बताए । उनले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा किन समायोजन नगरिएको भनी प्रश्न गर्दै छिटो समायोजन गर्न माग गरे।
सांसद भूमिका लिम्बू सुब्बाले चैत ८ गते जारी सरकारी सूचनाअनुसार निजी सञ्चारमाध्यमलाई सरकारी सूचना नदिने र निजी क्षेत्रबाट सञ्चालित प्रेस तथा आमसञ्चारमाध्यमलाई अप्ठ्यारो पार्ने काम भइरहेको भनी आपत्ति व्यक्त गरिन । सरकारको यस कदमबाट निजी तथा सामुदायिक सञ्चारमाध्यम धरासायी हुन गई कैयाँै व्यक्तिको रोजगारी गुम्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन ।
सांसद जनकराज गिरीले खप्तड क्षेत्रको बाजुरा खण्डमा चट्याङबाट पशु चौपायासहितको क्षति भएकाले यससम्बन्धी सचेतना कार्यक्रम चलाउन माग गरे । उनले गत सोमबार सो क्षेत्रमा परेको चट्याङबाट स्थानीय मनबहादुर रावलको १५ भेडा र एउटा भैँसी मरेको र रावल घाइते भएको जानकारी दिँदै पीडित रावललाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
सांसद जगदीश खरेल (ललितपुर)ले संविधानको धारा २५ ले सम्पत्तिको हक उपलब्ध गराएको उल्लेख गर्नुहुँदै ग्वार्को लामाटार लाँकुरीभञ्ज्याङ जोड्ने ४५ किमी सडकखण्डमा मानव बस्ती बसेपछि अहिले केन्द्रबिन्दुबाट दायाँबायाँ ३१–३१ गरी ६२ मिटर मापदण्ड कायम गरिनु गलत भएकाले सच्याउन माग गरे । यही सडकखण्डमा ‘लुभु’ जस्तो ऐतिहासिक बस्ती रहेको जानकारी दिँदै उनले उक्त सडकलाई राष्ट्रिय राजमार्गमा नराखी राजमार्ग छेउछाउका बस्ती जोगाउन अनुरोध गरे ।
सांसद गणेश कार्कीले मोरङ निर्वाचन क्षेत्र नं ३ मा जग्गा किन्न आउने व्यक्तिले अझै पनि अनाहकमा दुःख झेल्नुपरको बताउँदै त्यस किसिमका आपराधिक गतिविधि अन्त्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरे ।
सांसद आशिका तामाङले धादिङको धुनीबेँसी नगरपालिका निवासी २१ वर्षीय उज्ज्वल बराल ‘म्यानपावर’बाट पीडित भएको उल्लेख गर्दै उनको जीवन रक्षाका लागि सरोकार भएका निकायको ध्यानाकर्षण गराए।
सांसद ऐनबहादुर महरले जापानको रोजगारीमा गएका बझाङको केदारेश्वरका दीपक थानीको निधन भई शव नेपाल ल्याउन नसकिएकाले ल्याउने व्यवस्था गर्न माग गरे ।
सांसद शाहजान खातुनले रौतहट बैरगनिया सीमामा भारतले अग्लो सीमा बनाएको उल्लेख गर्दै दशगजा क्षेत्रको मापदण्डअनुसार दुवै पक्षको सहमतिमा सीमा निर्माण गरिनुपर्नेमा एकपक्षीय रुपमा संरचना बनाएर नेपाली भूमि डुबानमा पार्न खोजिएको भनी सरकारको ध्यानाकर्षण गराए । उनले सो विषयमा औपचारिक कूटनीतिक पहल गरेको छ, छैन भनी सरकारसँग जवाफ माग पनि गरे ।
प्रकाशित समय : १६:४६ बजे



















