गृहपृष्ठ बाँसगढी पार्क : अध्ययन भयो, निर्माण भएन
बाँसगढी पार्क : अध्ययन भयो, निर्माण भएन
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बाँसगढी पार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भएको नौ वर्ष भइसक्दासमेत निर्माणको कामले भने गति लिन सकेको छैन ।
विसं २०७४ मा उक्त पार्कको डिपीआर तयार भएको थियो । त्यसयता तीनपटक मात्रै बजेट आएको छ । विसं २०७९/८० मा २० लाख बजेट आएको थियो । त्यो बजेटले पर्खाल, खानेपानी ट्याङ्की, दुई वटा धारालगायतका संरचना निर्माण गरिएको छ ।
आव २०८०/८१ मा ५५ लाख बजेट आएको थियो । जसबाट गोलघर, शौचालय, खानेपानी ट्याङ्कीलगायत केही भवन बनेका छन् । चालु वर्षमा रु सात लाखमा तारजाली निर्माण भएका छन् । तीनै पटक लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको निर्माण समितिका अध्यक्ष मस्तबहादुर थापाले बताए ।
तर पर्याप्त बजेट नआउँदा निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ । यस क्षेत्रको पर्यटकीय विकासका लागि उक्त पार्कले भूमिका खेल्न सक्ने भए पनि निर्माणले गति लिन नसकेको उनको भनाइ छ ।
पाँच करोड बराबरका संरचना निर्माण गरेर पर्यटकीयस्थल बनाउने गरी डिपीआर तयार भएको थियो । तीन बिघा जग्गामा ‘वाटर फाउण्टेन’, ‘स्वीमिङ पुल’,‘पिक्निक स्थल’ लगायत संरचना निर्माण गर्ने गरी डिपीआर बनेको थियो । त्यस जग्गामा तारबार भने भइसकेको छ । नजिकै पानीको मुहान भएकाले पनि पानीको समस्या छैन भने सामुदायिक वन क्षेत्र भएकाले वातावरण मनोरम छ ।
बाँसगढीमा अहिले विशेषगरी शनिबार र बिदाको दिनमा वनभोज खान गाउँगाउँबाट विभिन्न टोली पुग्ने गरेका छन् ।
प्रकाशित समय : १७:४७ बजे



















