global ime bank Long Banner Ad

गृहपृष्ठ ऊर्जा क्षेत्रमा सुधार र संस्थागत सुदृढीकरणका लागि बलराम खतिवडा समूहको प्रतिवद्धता सावर्जनिक

ऊर्जा क्षेत्रमा सुधार र संस्थागत सुदृढीकरणका लागि बलराम खतिवडा समूहको प्रतिवद्धता सावर्जनिक

ऊर्जा क्षेत्रमा सुधार र संस्थागत सुदृढीकरणका लागि बलराम खतिवडा समूहको प्रतिवद्धता सावर्जनिक

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा गरिएको छ ।

‘परिवर्तनका लागि सहभागीतामूलक÷प्रतिनिधिमूलक नयाँ र ऊर्जा क्षेत्रको अनुभवी नेतृत्व’ भन्ने नाराका साथ खतिवडा समूहले आफ्नो विस्तृत प्रतिवद्धता पत्र सार्वजनिक गर्दै चुनावी मैदानमा उत्रिएको हो ।

खतिवडा समूहले इप्पानको विधान संशोधन र संस्थागत संरचनामा देखिएको विवादलाई मुख्य एजेन्डा बनाएको छ । प्रतिवद्धता पत्रमा उल्लेख भएअनुसार, २३औं साधारण सभाले इप्पानलाई महासंघीय ढाँचामा लैजाने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गर्ने निर्णय गरे पनि वर्तमान कार्यसमितिले त्यसलाई कार्यान्वयन नगरी पुरानै विधानअनुसार निर्वाचन आह्वान गरेकोमा यो समूहले असन्तुष्टि व्यक्त गरेको छ ।

साधारण सभाको निर्णय उल्ट्याएर लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गर्न खोजिएको भन्दै खतिवडा समूहले संस्थामा सुशासन र विधिलाई स्थापित गर्ने संकल्प गरेको छ । ऊर्जा क्षेत्रको समग्र विकासका लागि यो समूहले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।

यस्तै, नेपाल विद्युत प्राधिकरणमा थन्किएका १६ हजार मेगावाटभन्दा बढीका आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन पहल गर्ने, विद्युत विधेयक र जलस्रोत विधेयकलाई निजी क्षेत्रमैत्री बनाउन दबाब दिने र बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा अनिवार्य २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्थाका लागि पहल गर्ने जस्ता महत्वपूर्ण योजनाहरू अघि सारेको छ ।

इप्पानको आन्तरिक सुदृढीकरणका लागि खतिवडा समूहले सदस्य कम्पनीहरूका समस्या सुन्न हेल्प डेस्क स्थापना गर्ने, ऊर्जा क्षेत्रका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने र ३ वर्षभित्र इप्पानको आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखेको छ । साथै, निर्माण सम्पन्न भएका आयोजनाहरूको व्यक्तिगत जमानत स्वतः फुकुवा हुने व्यवस्था मिलाउने र बीमा प्रिमियममा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता पनि पत्रमा उल्लेख छ ।

बलराम खतिवडाको नेतृत्वमा रहेको यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा खतिवडा आफैं उम्मेदवार छन् भने उपाध्यक्षहरूमा भरत बहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, दिपक पौडेल र सिर्जना खड्का रहेका छन् ।

त्यसैगरी, महासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरूमा कृष्ण प्रसाद घिमिरे, तारा बहादुर इस्वो लिम्बु, विरेन्द्र बहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठ तथा कोषाध्यक्षमा मिथुन पौडेल उम्मेदवार रहेका छन् । सदस्यहरूमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईं लगायत २३ सदस्यीय टोली चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु