गृहपृष्ठ प्राकृतिक र धार्मिक महत्व बोकेको दोमुख अझै पूर्वाधारविहीन
प्राकृतिक र धार्मिक महत्व बोकेको दोमुख अझै पूर्वाधारविहीन
अदानचुली । हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको दोमुख पर्यटकीय, धार्मिक तथा व्यावसायिक सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित बन्दै गएको छ। कर्णाली करिडोर सँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका–१ मा पर्छ भने हुम्ला कर्णाली नदीपारिको क्षेत्र मुगुको सोरु गाउँपालिका–३ मा अवस्थित छ।
हुम्लातर्फ रहेको दोमुख बजार अदानचुली गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ। कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ व्यापारिक गतिविधि उल्लेखनीय रूपमा बढेको दोमुख बजार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढा ले बताए । उनका अनुसार हुम्ला र मुगुका बासिन्दाको आवतजावत तथा किनमेलका लागि दोमुख महत्त्वपूर्ण केन्द्र बनेको छ।
हुम्ला कर्णाली र मुगु कर्णाली नदीको संगमस्थल रहेका कारण दोमुखको प्राकृतिक सौन्दर्य आकर्षक छ। नदीकिनार, वरिपरिका पहाडी दृश्य र शान्त वातावरणले यहाँ आन्तरिक पर्यटनको राम्रो सम्भावना देखिन्छ। तर, आवश्यक पर्यटकीय पूर्वाधार, प्रचारप्रसार र व्यवस्थापनको अभावले यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन। स्थानीयवासीका अनुसार मन्दिर, विश्रामस्थल, दृश्यावलोकन केन्द्र तथा खानेबस्ने सुविधालगायतका संरचना निर्माण गर्न सके पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ।
दोमुख क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। स्थानीय समुदायले यहाँ गौजो काट्ने, व्रतबन्ध, काजकिरिया, मृत्यु संस्कार तथा विभिन्न धार्मिक एवं सांस्कृतिक अनुष्ठान सम्पन्न गर्दै आएका छन्। यसले दोमुखलाई केवल व्यापारिक वा पर्यटकीय केन्द्रमात्र नभई स्थानीय आस्था, संस्कृति र परम्परासँग जोडिएको महत्त्वपूर्ण स्थलका रूपमा स्थापित गरेको छ।
कर्णाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका माछाका कारण पनि दोमुख परिचित छ। प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, व्यापारिक गतिविधि र मत्स्य सम्पदाको सम्भावना हुँदाहुँदै पनि दोमुख अझै आवश्यक पूर्वाधार निर्माण र प्रभावकारी प्रवर्द्धनको प्रतीक्षामा रहेको स्थानीयको भनाइ छ।
प्रकाशित समय : ०७:०९ बजे



















