गृहपृष्ठ प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले चार विधेयक प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले चार विधेयक प्रस्तुत गर्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज संघीय संसद भवन, सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि छलफल सुरु हुने तथा उठेका प्रश्नहरूको जवाफ पनि आजै दिने कार्यसूची रहेको छ।
त्यसैगरी, अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन्। साथै, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१)’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ संसदमा पेश गर्ने कार्यसूची रहेको छ।
प्रकाशित समय : ०७:०० बजे



















