गृहपृष्ठ यूनाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा
यूनाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेको सेयर अब बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले अवितरित ७० हजार ४८० कित्ता हकप्रद सेयर लिलामीमार्फत सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई बिक्री गर्न लागेको हो।
कम्पनीले चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १००ः१० अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। सो अवधिमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको सेयर बोलकबोल प्रक्रियामा बिक्री गर्न लागिएको हो।
लिलामीमा राखिएको सेयरमध्ये ६३ हजार ८४७ कित्ता संस्थापक समूहको र ६ हजार ६३३ कित्ता सर्वसाधारण समूहको रहेको छ।
कम्पनीका अनुसार उक्त सेयर खरिदका लागि आवेदन प्रक्रिया जेठ २९ गतेदेखि खुल्नेछ। बोलकबोलमा व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाले समेत सहभागिता जनाउन सक्नेछन्।
सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बोलपत्र आवेदन लक्ष्मी सनराइज क्यापिटल तथा लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढीस्थित शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ।
कम्पनीले बोलपत्र आवेदन बुझाउने अन्तिम मिति असार ८ गते तोकेको छ। त्यसपछि प्राप्त बोलकबोलका आधारमा सेयर बाँडफाँट प्रक्रिया अगाडि बढाइनेछ।
प्रकाशित समय : ०९:२१ बजे



















