गृहपृष्ठ राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार भएको सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा बाजी मारेका हुन् ।
सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरे भने पौड्यालको पक्षमा केवल २ मत मात्र परेको थियो । झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको रूपमा कार्यरत थिए । जेठ १३ गते सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयनका लागि यो निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
बैंकको नयाँ कार्यसमितिमा सातवटै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ, जसमा कोशीबाट उप्रेतीसहित मधेशबाट मन्दिरा आचार्य, बागमतीबाट परितोष पौड्याल, गण्डकीबाट कमला देवी गिरी, लुम्बिनीबाट विष्णुप्रसाद बराल, कर्णालीबाट कालीबहादुर महतारा र सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट सञ्चालक रहेका छन् । त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा ममता शाह र युवराज पोखरेल चयन भएका छन् ।
संशोधित विनियमावली अनुसार बैंकको समितिमा कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने आगामी दिनमा सञ्चालक समितिले थप दुई जना विज्ञ सञ्चालकहरू मनोनयन गर्ने व्यवस्था रहेको छ ।
प्रकाशित समय : ०९:५५ बजे

















