गृहपृष्ठ माङसेबुङमा गाउँपालिकामा कामकाजी लिम्बू भाषा !
माङसेबुङमा गाउँपालिकामा कामकाजी लिम्बू भाषा !
इलाम । इलामको माङसेबुङ गाउँपालिका ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा लागू गर्ने पहिलो पालिका बनेको छ ।
मंगलबारदेखि माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । कोसी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रूपमा लागू भएको घोषणापत्र वाचन गरेर औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।
माङसेबुङ गाउँपालिकामा बहुसंख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताए । २०८३ वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकको निर्णय अनुसार ‘लिम्बू भाषा’ कार्यान्वयनमा ल्याइएको उनले बताए ।
अबदेखि गाउँपालिका र मातहतका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने बोर्ड, लेटरप्याड, फारामलगायतका सामग्रीमा नेपाली भाषासँगै ‘लिम्बू भाषा’ तथा ‘किरात सिरिजङ्गा लिपि’ प्रयोग गरिने अध्यक्ष राईले जानकारी दिए ।
माङसेबुङ गाउँपालिकाले नेपालको संविधानको धारा ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रूपमा कार्यान्वयन गरिएको उनले बताए ।
प्रकाशित समय : ०८:०८ बजे



















