गृहपृष्ठ ललितपुरमा भवन सूचना मोडलिङ तालिम
ललितपुरमा भवन सूचना मोडलिङ तालिम
पाटन । ‘भवन सूचना मोडलिङ’ (बिआइएम) सम्बन्धी चारदिने आधारभूत तालिम ललितपुरमा आजदेखि सुरु भएको छ । स्ट्रक्चरल इञ्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा सो तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले स्ट्रक्चरल, मेकानिकल, अर्किटेक्चर इञ्जिनियरलाई एकअर्काबीच कसरी अन्तर आबद्धता गराउने भन्ने विषयमा सुरुमै पहिचान गरेर संरचनाको डिजाइनमा यस्ता तालिमले निष्कर्ष दिने बताए ।
“तालिमका माध्यमबााट प्राविधिक कमजोरीलाई परिवर्तन गर्न ध्यान दिनु आवश्यक हुन्छ, प्राविधिक सीपको दक्षता विकासका लागि यस्ता तालिम र कार्यशाला अत्यन्तै प्रभावकारी हुन्छन् । नयाँ प्रविधिअनुसार संरचनालाई कसरी डिजाइन गर्ने, आकर्षक र प्रभावकारी बनाउनेबारे तालिम प्रभावकारी हुनेछ”, उनले भने ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख प्रकाण्ड तुलाधरले विआइमले पारित गरेको संरचना निर्माण परियोजना हुने व्यवस्था हुन सके राम्रो हुने धारणा राखे । हिमालय कलेज अफ इञ्जिनियरिङका निर्देशक किशोर गौतमले इञ्जिनियरिङ विषयमा पढाइ हुने कलेजमा यस्तो तालिमको व्यवस्था हुँदा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । उनले पेशागत दक्षता अभिवृद्धिका लागि यस्ता कार्यशाला र इञ्जिनियरिङ क्षेत्रको तालिमलाई कलेजले सधैँ प्राथमिकता दिने बताए ।
संस्थाका अध्यक्ष कृष्णसिंह बस्नेतले इञ्जिनियरिङ सोसाइटीलाई प्रभावकारी बनाउँदै लैजाने सोच रहेको जानकारी गराउँदै पुराना इञ्जिनियरले काम गर्दाको अनुभवलाई प्रभावकारी बनाउनुका साथै संरचनात्मक ढाँचामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । स्ट्रक्चरल इञ्जिनियर्स एशोसिएशन नेपालका पूर्वअध्यक्ष सञ्जीव शाहले सन् २००२ मा स्थापना हुँदा सफ्टवेयरसँगको प्रतिस्पर्धा कम थियोे भन्दै अहिले प्रविधिको उपयोग अत्यधिक हुने भएकाले इञ्जिनियरहरुलाई दक्षता र क्षमता अभिवृद्धिका लागि प्रभावकारी तालिम आवश्यक छ भने
। कार्यक्रममा डा हरिलोचन श्रेष्ठ, संस्थाका संस्थापक महेश कार्की, संस्थाका सहसचिव डा भरत प्रधानलगायतले सहभागीलाई फरक समूहमा अभ्यास गराउने सो तालिम तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
प्रकाशित समय : १६:२७ बजे



















