गृहपृष्ठ उच्च अदालतको न्यायाधीशको नेतृत्वमा ‘श्रीकृष्ण प्रकरण’ छानविन हुनुपर्छ : वक्ताहरु
उच्च अदालतको न्यायाधीशको नेतृत्वमा ‘श्रीकृष्ण प्रकरण’ छानविन हुनुपर्छ : वक्ताहरु
काठमाडौं । प्रहरी हिरासतमा ज्यान गुमाएका श्रीकृण विश्वकर्माले न्याय नपाउन्जेल आफूहरुले संघर्ष गर्ने जेनजी युनाइटेडले जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारको जाहेरी दर्ता नगर्नुले यातना दिएर हत्या गरिएको हुन सक्ने समेत आशंका गरेको छ ।
जेनजी युनाइटेडका संयोजक जनक परियारले विश्वकर्माको मृत्यु भएको झण्डै महिना दिनसम्म पनि जाहेरे नलिनुले हत्यामा राज्यकै सम्लग्नताको आशंका गरेका छन् । पछिल्लो समय देशभरी दलित समुदायमाथि हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै परियारले भने, ‘प्रहरीकै सुरक्षामा श्रीकृष्णको ज्यान गएको छ, घरबेटिहरुले कोठा खालि गराइरहेका छन्, अन्तरजातिय विवाहको नाममा हिंसा बढ्नु दर्भाग्यको विषय हो ।’ जेनजीको बलबाट आएको वर्तमान सरकार दलितहरुप्रति असहिष्णु रहेको व्यवहारले पुष्टि भकोसमेत बताए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीको सुरक्षा घेराभित्रै दलित युवा मारिनु राज्यले गरेको जघन्य अपराध भएको बताए । राज्यको नियन्त्रणमा घटना भएकाले यसको छानविन प्रहरीले गरेर नहुने भन्दै घटनाको छानविनका लागि उच्च अदालतको न्यायाधीश नेतृत्वको न्यायीक समिति वा संसदीय छानविन समिति गठन गरिनुपर्ने माग गरे ।
त्रिपाठीले भने ‘घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्नुपर्छ । ‘यो घटनाको प्रमाण जोगाउन राष्ट्रिय मानवअधिकार आयोगले एक जना आयुक्तको नेतृत्वमा टोली खटाएर घटनाको स्थलगत अध्ययन गर्नुपर्छ, प्रमाणहरु सुरक्षित गर्नुपर्छ ।’
श्रमसंस्कृति पार्टीका युवा नेता निर्मल परियारले दलित अधिकारका लागि देशभरका सबै दलित एक हुनुपर्ने बताए । ‘श्रीकृष्णको न्यायका लागि सबैपार्टीले सरकारलाई दबाब दिनुपर्छ, समयमै न्यायनिरुपँण नभए दलित तथा उत्पीडित वर्गमाथि थप अत्याचार बढ्न सक्छ,’ परियारले भने । परियारले प्रहरीको हिरासतमै नागरिकको ज्यान गएको छ, त्यसको जिम्मेवारी राज्यले नै लिनुपर्ने माग राखे ।
जेनजी विवेक थापाले वर्तमान सरकारले श्रमजीवी जनताको पक्षमा काम गर्ने भन्दा पनि तीनै जनतालाई थप अधिकार बिहिन बनाउन उद्धत रहेको जिकिर गरेका छन् । विना विकल्प सुकुम्बासी बस्तीमा डोजर लगाएर उनिहरुमाथि हदैसम्मको अन्याय गरेको थापाको कथन छ ।
अधिवक्ता चक्रमान विश्वकर्माले श्रीकृष्णको हत्या भएको हो वा अरु कारणले मृत्यभएको हो भनेर पत्ता लगाउन राज्यले जाहेरी लिनुपर्ने धारणा राखे ।
सामाजिक अभियान्ता गणेश गोतामेले सातदोबाटोबाट प्रहरीले सिन्धुलीको खुर्कोटमा लगेको र प्रहरीकै यातनामा विश्वकर्माको मृत्यु भएको हुनसक्ने आशंका गरेका छन्। दलित अभियान्ता रामचन्द्र घतानेले दुई तिहाइको सरकारले दलितमाथि अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे ।
प्रकाशित समय : १५:१८ बजे



















