global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे पुस्तक सार्वजनिक

नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे पुस्तक सार्वजनिक

नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे पुस्तक सार्वजनिक

काठमाडौँ । पूर्वराजदूत यज्ञबहादुर हमालद्वारा लिखित नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे अध्ययनमूलक पुस्तक ‘नेपाल्स फरेन पोलिसी एन्ड फरेन रिलेसन्स’ सार्वजनिक भएको छ । उक्त कृतिमा नेपालको परराष्ट्र नीति र कूटनीतिक अभ्यासलाई ऐतिहासिकदेखि समसामयिक आयामसम्म समग्र रूपमा विश्लेषण गरिएको छ ।

पुस्तकमा नेपालको परराष्ट्र सम्बन्धको प्रारम्भ प्राचीन तथा मध्यकालीन युगदेखि आधुनिक कालसम्म समेटिएको छ । राणा शासनकालको एकाकी नीति र सीमित समायोजन, त्यसपछिको प्रजातन्त्र उदयसँगै विश्वसँगको सम्बन्ध विस्तार, पञ्चायत कालको राष्ट्रवादी दृष्टिकोण तथा प्रजातन्त्र पुनःस्थापनापछि विकसित बहुलवादी स्वरूपलाई क्रमिक रूपमा व्याख्या गरिएको छ ।

यसका साथै देशगत सम्बन्ध, राष्ट्रिय हित, असंलग्नता र तटस्थता, राष्ट्रिय सुरक्षा, अन्तरराष्ट्रिय व्यापार, विकासका लागि बाह्य वित्त, क्षेत्रीय सहकार्य प्रवर्द्धनलगायत विषय समेटिएका छन् । अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालको भूमिका, विश्वव्यापी समस्याहरू तथा तिनका समाधानका लागि राष्ट्रिय पहलसम्बन्धी पक्षहरू पनि पुस्तकमा समावेश गरिएका छन् ।

ऐतिहासिक स्रोत, कूटनीतिक अभ्यास र शैक्षिक दृष्टिकोणको संयोजनमार्फत पुस्तकले नेपालको बाह्य सम्बन्धको स्वतन्त्र, सन्तुलित र निष्पक्ष विश्लेषण प्रस्तुत गरेको छ । परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न पक्षहरूको सफलता वा असफलता उनीहरूमै निहित रहने उल्लेख गर्दै लेखकका व्यक्तिगत अनुभव र विचारहरू पनि पुस्तकमा समेटिएका छन् ।

नेपाली इतिहासकार, विदेशी लेखक, संस्थागत प्रकाशन, अनुसन्धान अध्ययन तथा अनलाइन स्रोतहरूको आधारमा तयार गरिएको उक्त कृतिमा वर्तमान तथा भविष्यका लागि उपयोगी नीति विकल्पहरू पनि प्रस्तुत गरिएको छ । व्यापक विषयवस्तु र विश्लेषणात्मक गहिराइका कारण यो पुस्तक परराष्ट्र सम्बन्ध र कूटनीतिमा रुचि राख्ने पाठक तथा अध्येताका लागि उपयोगी र सङ्ग्रहणीय कृतिका रूपमा रहने अपेक्षा गरिएको छ ।

ओम सिद्धार्थ पब्लिकेशनलद्वारा प्रकाशित ५५४ पृष्ठको उक्त पुस्तकको मूल्य एक हजार २५० तोकिएको छ । प्रस्तुत पुस्तक काठमाडौँका प्रमुख पुस्तक पसलहरूमा पाइने लेखक हमालले राससलाई बताए ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु