global ime bank Long Banner Ad

गृहपृष्ठ उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङस्थित ढालुङ र सेताराको उच्च लेकमा एकैसाथ ठूलो सङ्ख्यामा दुर्लभ जङ्गली गधा ९क्याङ० देखापरेका छन्।

समुद्री सतहभन्दा करिब पाँच हजार मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा चरिरहेको अवस्थामा एक सय १६ वटा क्याङ भेटिएका हुन्।

कोरला नाकाबाट फर्किने क्रममा जङ्गली गधासम्बन्धी अध्ययन गरिरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लोमान्थाङका प्रमुख उमेश पौडेलले यति ठूलो सङ्ख्यामा क्याङ देखेका हुन्। उनले ढालुङ लेकमा १०२ र सेतारा लेकमा १४ वटा क्याङ चरिरहेको अवस्थामा फेला पारेको बताए।

जङ्गली गधाको यो प्रजातिको मुख्य बासस्थान ट्रान्स हिमालयन अर्थात् तिब्बत र मुस्ताङको सीमा क्षेत्र हो। मौसमअनुसार यिनीहरूले आफ्नो बासस्थान फेर्ने गर्छन्।

हिउँदका आठ महिना तिब्बती पठारमा बिताउने क्याङ गर्मी सुरु भएपछि अप्रिल, मे र जुन महिनामा उपल्लो मुस्ताङका उच्च लेकहरूमा प्रवेश गर्छन्। यो याममा मुस्ताङका सीमावर्ती लेकमा हरियो घाँस पलाउने भएकाले उनीहरू आहारको खोजीमा नेपालतर्फ आउने गरेको पौडेलले जानकारी दिए।

यसअघि सन् २००४ मा गरिएको अध्ययनमा उपल्लो मुस्ताङमा जम्मा ३७ वटा मात्र क्याङ फेला परेका थिए। क्यामेरा ट्र्यापिङबाट सङ्ख्या यकिन गर्ने गरिए पनि यसरी प्रत्यक्ष रूपमा यति ठूलो बथान पहिलो पटक देखिएको हो।

एसियाकै सबैभन्दा ठूलो स्तनधारी प्राणी मानिने यी जङ्गली गधाको शरीर खैरो र रातो मिसिएको हुन्छ भने पेटको भाग सेतो हुन्छ। लामा खुट्टा हुने यी जनावर निकै छिटो कुद्न सक्छन्।

सधैँ समूहमा बस्ने, सतर्क रहने र तीव्र गतिमा दौडिने यिनीहरूको मुख्य विशेषता हो। पछिल्लो समय बढ्दो जलवायु सङ्कट र मानवीय गतिविधिले गर्दा मौसमअनुसार तलमाथि गरिरहने यी दुर्लभ जङ्गली गधाको बासस्थान र अस्तित्वमा भने चुनौती थपिँदै गएको छ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु