गृहपृष्ठ हुरीले मकैखेतीमा क्षति
हुरीले मकैखेतीमा क्षति
इनरुवा । बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ ।
जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताए । विगतमा गहुँखेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यसपटक एक बिघा १५ कठ्ठामा मकैखेती गरेकामा हुरीले क्षति पु¥याएर समस्यामा पारेको उनको भनाइ छ ।
“मकैखेतीमा एक लाख ५० हजारसम्म खर्च भएको थियो । त्यसबाट चार लाखसम्म आम्दानी हुने आशा रहेकामा लगानीसमेत डुब्ने अवस्था आएको छ”, साहले भने।
कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जिल्लामा गहुँखेती गर्दैै आएका धेरैजसो कृषक मकैखेतीतर्फ आकर्षित भइरहेकामा बेला बेला हुने यस्ता विपद्ले समस्यामा पार्ने गरेको बताए । यस पटक हुरीका करिब १० देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान रहेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको उनले बताए।
जिल्लामा २०८२/८३ मा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखती गरिएको थियो ।
प्रकाशित समय : १७:४५ बजे




















