गृहपृष्ठ नेपाली सेनाबारे आधारहीन र द्वेषपूर्ण टिप्पणी नगर्न जंगी अड्डाको आग्रह
नेपाली सेनाबारे आधारहीन र द्वेषपूर्ण टिप्पणी नगर्न जंगी अड्डाको आग्रह
काठमाडौं । नेपाली सेनाले सेना र सेनापतिबारे तथ्यहीन अभिव्यक्ति नदिन चेतावनी दिएको छ। जंगी अड्डाले शुक्रबार विज्ञप्ति जारी गरी अराजक गतिविधिको निगरानी भइरहेको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रसार भएका तथ्यहिन सूचना एवं अभिव्यक्ति सेनाको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता कपोकल्पित समाचारहरूले आम नागरिकमा भय उत्पन्न गर्ने हुँदा त्यस्ता भ्रामक समाचार प्रसार नगर्न/नगराउनु हुन अनुरोध गरिन्छ।’
सेनाले नेपाली सेना र सम्बन्धित निकायहरूले उच्छृङ्खल तथा अवैध गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिलाई प्रचलित कानुनको दायरामा ल्याउने समेत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आम जनमानसमा यस किसिमका आधारहीन र द्वेषपूर्ण समाचार तथा टीका–टिप्पणीहरूलाई विश्वास नगर्न अनुरोध गर्दै आधिकारिक सूचनाको लागि नेपाली सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र वेबसाइटमा सम्प्रेषण गरिएका सूचनाका जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गरुन् भन्ने अनुरोध गरिन्छ।’
प्रकाशित समय : १८:४७ बजे

















