nmb bank

गृहपृष्ठ नेपाल-इजिप्टमैत्री दौड सम्पन्न

नेपाल-इजिप्टमैत्री दौड सम्पन्न

काठमाडौं । इजिप्टको राजधानी कायरोमा माउन्ट एभरेष्ट दिवस र अन्तरराष्ट्रिय वेलनेस दिवसका अवसरमा आज नेपाल-इजिप्टमैत्री दौड आयोजना गरिएको छ । पाँच किलोमिटरको मैत्री दौड नेपाली राजदूतावास, कायइरोले इजिप्टको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी देग्ला प्रोटेक्टोरेटको सहकार्यमा आयोजना गरेको दूतावासले जनाएको छ ।

‘हिमालयदेखि नाइलसम्म-हरित भविष्यका लागि दौडौँ’ भन्ने नाराका साथ सुरु भएको उक्त दौडको उद्घाटन नेपालका लागि इजिप्टस्थित राजदूत सुसिलकुमार लम्साल तथा इजिप्टको स्थानीय विकास तथा वातावरण मन्त्रालयअन्तर्गत संरक्षित क्षेत्रको केन्द्रीय प्रशासन प्रमुख डा मोहम्मद युसुफले गरेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्घाटन समारोहमा राजदूत लम्सालले सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने माउन्ट एभरेष्ट दिवसलाई मानव सङ्कल्प र साझेदारीको प्रतीकका रूपमा उल्लेख गरे । साथै उनले हालै नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको अन्तरराष्ट्रिय वेलनेस दिवसको महत्वमाथि प्रकाश पारे ।

राजदूत लम्सालले जलवायु परिवर्तनलाई साझा विश्वव्यापी चुनौतीका रूपमा उल्लेख गर्दै यसको प्रभाव नेपाल र इजिप्ट दुवैमा देखिन थालेको बताएका छन । प्रमुख डा युसुफले कार्यक्रमको आयोजना र यसले वातावरणीय सचेतना तथा दिगोपनाको क्षेत्रमा दिएको सन्देशको प्रशंसा गर्दै वातावरण संरक्षण र हरित भविष्य निर्माणप्रति इजिप्टको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

पाँँच किलोमिटर दौड विशेष ट्रेल वादी देग्ला प्रोटेक्टोरेटको प्राकृतिक क्षेत्रमा हुँदै आएको थियो, जुन लगभग ३० किलोमिटर फैलिएको संरक्षित मरुभूमि उपत्यका हो । यसले स्थानीय मरुभूमि पारिस्थितिक प्रणाली र वन्यजन्तुको संरक्षण गर्दछ । कार्यक्रममा कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी तथा नेपाली समुदायका सदस्यसहित ३५० भन्दा बढीको सहभागिता थियो ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु