गृहपृष्ठ प्रज्ञा पुरस्कार–२०८२ बाट बाह्र जना पुरस्कृत हुँदै
प्रज्ञा पुरस्कार–२०८२ बाट बाह्र जना पुरस्कृत हुँदै
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको प्रज्ञा पुरस्कारअन्तर्गत ‘प्रज्ञा पुरस्कार–२०८२’ बाट पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरिएको छ ।
भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र गरी विभिन्न विधाबाट पुरस्कृतहरुको सूची आज प्रतिष्ठानले सार्वजनिक गरेको हो । साथै, यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कारसमेत प्रारम्भ गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार जनही एक लाख रुपैयाँ राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई दिइने भएको छ । जसमा समालोचनातर्फ प्रा डा अभि सुवेदी, भाषातर्फ प्रा मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा डम्बर चेम्जोङ, पद्म साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा डा सोमप्रसाद खतिवडा बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्मसाहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङ्माङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेस तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई प्रदान गरिने भएको छ ।
यसैगरी, जनही ५० हजार रुपैयाँ राशिको रहेको प्रज्ञा प्रादेशिक पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक ७ जनालाई दिने भएको छ । जसमा कोसी-१ नम्बरतर्फ मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ).मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल सोडारीलाई प्रज्ञा प्रादेशिक पुरस्कार प्रदान गरिने भएको छ ।
उक्त पुरस्कारहरू यही वैशाख १७ गते बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादी, काठमाडौँमा कार्यक्रम आयोजना गरी प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित समय : १८:३७ बजे



















