गृहपृष्ठ भृकुटीमण्डपमा ‘फुड एन्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो’, ३०० भन्दा बढी कम्पनी सहभागी
भृकुटीमण्डपमा ‘फुड एन्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो’, ३०० भन्दा बढी कम्पनी सहभागी
काठमाडौं – भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका व्यवसायीहरूलाई एकै थलोमा ल्याउने उद्देश्यले ‘फुड एन्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ शुरू भएको छ। एक्स्पोमा ३०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
नेपालको खाद्य तथा पेय पदार्थ तथा आतिथ्य क्षेत्र पछिल्लो दुई दशकमा तीव्र रूपमा विस्तार हुँदै गएको छ। रेस्टुरेन्ट, होटल, क्याटरिङ सेवा र खाद्य प्रशोधन व्यवसायहरूको वृद्धि सँगै नेपालीहरूको जीवनशैली र खानपान संस्कृतिमा उल्लेखनीय परिवर्तन आएको हो।
हाल देशभर २५ हजार ५ सयभन्दा बढी फुड एन्ड बेभरेज प्रतिष्ठान सञ्चालनमा छन्, जसले करिब ९४ हजार मानिसलाई रोजगारी प्रदान गरिरहेका छन्। यसैगरी, आगामी दुई वर्षभित्र २५ भन्दा बढी नयाँ तारे होटल सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सन् २०२३ मा १२ लाख नाघेको पर्यटक आगमन संख्या पुनः बढ्दो क्रममा रहेकाले आतिथ्य सेवाको माग पनि विस्तार हुँदै गएको छ।
आयोजकका अनुसार फुड एन्ड बेभरेज आतिथ्यसँग सम्बन्धित व्यवसायहरूका लागि डिजाइन, सजावट, किचनवेयर, हाउसकिपिङ समाधान तथा नयाँ प्रविधिहरू अवलोकन गर्ने महत्वपूर्ण मञ्च हो। प्रत्यक्ष प्रदर्शन, प्रतिस्पर्धा र नेटवर्किङ सत्रहरूले व्यवसायीहरूलाई नयाँ साझेदार तथा आपूर्तिकर्तासँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
खुद्रा व्यवसायीहरू—सुपरमार्केट, किराना पसल तथा कन्भिनेन्स स्टोरहरूका लागि पनि एक्स्पो नयाँ आपूर्तिकर्ता खोज्ने, प्रतिस्पर्धी मूल्यमा खरिद गर्ने र बजारको मागअनुसार सामान व्यवस्थापन गर्ने उपयुक्त अवसरका रूपमा लिइएको छ।
प्रकाशित समय : १९:३५ बजे

















