गृहपृष्ठ मेयर कप क्रिकेट मङ्गलबारदेखि
मेयर कप क्रिकेट मङ्गलबारदेखि
सुनसरी । सुनसरीको इटहरीमा मङ्गलबारदेखि तेस्रो मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आयोजक आइडियल स्पोट्र्स एकेडेमीले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै इटहरी–९ स्थित जनता क्रिकेट खेल मैदानमा यही वैशाख १५ गतेदेखि २१ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।
इटहरी उपमहानगरपालिकाको सहकार्य तथा कोशी प्रदेश क्रिकेट सङ्घको सहयोगमा टी–२० क्रिकेट हुन लागेको सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक सिपी पौडेलले जानकारी दिए ।
प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा इटहरीका तीन, धरान उपमहानगरपालिका, विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, बराहक्षेत्र नगरपालिका, मेचीनगर (झापा), त्रियुगा नगरपालिका (उदयपुर), कटहरी गाउँपालिका (मोरङ) र सुनवर्षी नगरपालिका रहेका संयोजक पौडेलले बताए ।
प्रतियोगिताको विजेताले ७५ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी पाउनेछ । यसैगरी ‘प्लेयर अफ दी सिरिज’ लाई सात हजार तथा उत्कृष्ट ब्याटर र बलरलाई जनही चार हजार प्रदान गरिनेछ । यसअघि भएका दुवै संस्करणको उपाधि विराटनगर महानगरपालिकाले जितेको थियो ।
प्रकाशित समय : २१:०८ बजे



















