गृहपृष्ठ गौडामा सेवा केन्द्र सञ्चालन
गौडामा सेवा केन्द्र सञ्चालन
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ मा स्थानीय नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ सेवा केन्द्र सञ्चालनमा आएको छ ।
भौगोलिक जटिलता तथा वडा कार्यालयसम्म पुग्न कठिनाइ भोग्दै आएका कालापात्ला, पोखेडाँडा, बाहाखोला, नयाँथरी, चिदेरी, पिडाल्ने, सतिनेटा, गौडा, भेडाबारी झाँक्रीटोलका सेवाग्राहीले सहज रुपमा सेवा पाउने छन् । सेवाग्राहीलाई लक्षित गर्दै गौडामा हरेक महिनाको १० र २१ गते सेवा प्रदान गर्नेगरी केन्द्र स्थापना गरिएको वडासचिव प्रदीप आचार्यले बताए ।
वडा कार्यालयबाट प्रदान हुने नागरिकता सिफारिस, विभिन्न अन्य सिफारिस, राजस्व सङ्कलन, जन्म तथा मृत्यु दर्ता, बसाइँसराइ, सम्बन्ध विच्छेदलगायतका अत्यावश्यक सेवाहरू तोकिएको मितिमा सोही स्थानबाटै उपलब्ध हुने वडा अध्यक्ष श्रीधर महत्राले बताए । यसले दुर्गम क्षेत्रका बासिन्दालाई समय, खर्च र श्रम बचत गर्न महत्वपूर्ण सहयोग पु-याउने अपेक्षा गरिएको छ ।
सेवा केन्द्रको उद्घाटन प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले गरेका थिए । कर्मचारी अभावका बाबजुद पनि गाउँमै सेवा विस्तार गर्ने प्रयास प्रशंसनीय रहेको बताउँदै यसले स्थानीय सरकारप्रतिको जनविश्वास अझ मजबुत बनाउने प्रमुख प्रशासकीय अधिकृत खनालको भनाइ छ ।
विभिन्न वक्ताहरूले स्थानीय तहको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
यो सेवा केन्द्र सञ्चालनसँगै सो क्षेत्रका बासिन्दाले अब आफ्नै गाउँमा सरकारी सेवा प्राप्त गर्ने अवसर पाएका छन् ।
प्रकाशित समय : २०:३१ बजे



















