nmb bank

गृहपृष्ठ मोदीमा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु

मोदीमा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु

मोदीमा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु

पर्वत ।  मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट गरी खानपानी आयोजना सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङरलिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु गरिएको हो । आयोजनाको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले शिलान्यास गरेको थियो ।

सो आयोजना सम्पन्न भएपछि लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका मोदी गाउँपालिका–६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज हुने अपेक्षा गरिएको छ । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन गरिने भएको छ । उत्खनन गरिएको पानी भन्डै एक किलोमिटरमाथि डाँडामा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । यो आयोजनाबाट एक हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहे पनि तत्कालका लागि अति समस्यामा परेका २०० घरपरिवारमा विस्तार गरिने भएको छ ।

आयोजनाका लागि मोदी गाउँपालिकाको २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र उपभोक्ताका तीन लाखबराबरको श्रमदान गरी ४३ लाख रुपैयाँको लागतमा सम्पन्न हुने जनाइएको छ ।

बोरिङ गरेको स्थानभन्दा ३०० मिटरमाथि रहेको देउराली, मणि र पहरे गरी तीन स्थानमा निर्माण गरिएका ट्याङ्कीमा पानी जम्मा गरी घरघरमा वितरण गरिने छ । मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुईवटा शाखा ट्याङ्की एक हजार ५०० लिटर क्षमताको बनाइएको छ । आजभन्दा १८ महिनाअघि गरिएको सर्वेक्षणमा १२० मिटर गहिराइमा पानी रहेको पत्ता लागेको थियो । जसअनुसार गाउँपालिकाले गरेको बोलपत्र आह्वानमा रिमाल बोरिङ लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।

चालु आर्थिक वर्षभित्रै सबै घरमा खानेपानी विस्तार सम्पन्न गरिसक्नेगरी काम सुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत बाबुराम पुरीले जानकारी दिए ।

प्रकाशित समय : ०५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु