गृहपृष्ठ पछैमा रावणको मूर्ति स्थापना
पछैमा रावणको मूर्ति स्थापना
म्याग्दी । धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २१ फिट अग्लो रावणको मूर्ति स्थापना गरिएको छ । बेनी नगरपालिका–५ स्थित पछैमा निर्माण भएको रावणपार्कमा आकर्षक मूर्ति राखिएको हो । दश वटा टाउको भएको २१ फिट अग्लो रावणको मूर्ति राखिएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले जानकारी दिए।
“चार हजार किलो तौल भएको मूर्तिको बाहिरी भाग पित्तलले लेपन गरिएको छ”, उनले भने, “कालीगडले काठमाडौँमा तयार पारेको मूर्ति ल्याएर पछैमा निर्माण भएको पार्कमा राखिएको हो ।” ढलोट धातुको रावणको मूर्तिमा जनै पनि राखिएको छ ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारको शिरमा धेरै टाढाबाट देख्नसक्ने गरी ठूलो आकारको मूर्ति राखिएको हो । परापुर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको पछै म्याग्दीको सदरमुकाम बेनी बजारदेखि उत्तर पश्चिमतर्फको डाडामा अवस्थित छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७६/७७ देखि रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७७ फागुनमा एक करोड ७६ लाखमा ठेक्का सम्झौता भएको हो । नगरपालिकाले मन्त्रालयमा नियमित प्रतिवेदन बुझाउन नसक्दा झण्डै चार वर्षसम्म निर्माण कार्य रोकिएको थियो ।
चार रोपनी क्षेत्रफलमा पार्कमा घेराबार, प्रवेशद्धार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ । ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।
लामो समय र धेरै प्रयासपछि बजेट ब्यवस्थापन गरेर २०७८ असारदेखि रोकिएको रावण पार्क निर्माण कार्यलाई लयमा फर्काएर निर्माण सम्पन्न गरेपनि पर्यटन मन्त्रालयले बजेट नपठाउँदा भुक्तानीमा समस्या भएको नगर प्रमुख केसीले बताए । उनका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ । पुलह आश्रम १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्क निर्माणले पर्यटन प्रवद्र्धन हुने नगर उपप्रमुख ज्योती लामिछानेले बताए ।
समुन्द्र सतहदेखि दुई हजार मिटर उचाईमा रहेको रावण पार्क निर्माण स्थल पछैबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ ।
रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । बेनी बजारदेखि गाडीमा तीस मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे, बाँसबोट, एकपाटे हुदै पुरुण्डीसम्मको सडक कालोपत्र भएको छ ।
प्रकाशित समय : १९:१७ बजे




















