गृहपृष्ठ पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
पाकिस्तान सुपर लिग (पिएसएल) सुरु भएको पहिलो सातामै विवादको शृङ्खला देखिएको छ, जसको केन्द्रमा फास्ट बलर नसीम शाह परेका छन । सामाजिक सञ्जालमार्फत एक राजनीतिज्ञको आलोचना गरेपछि उनलाई ७१ हजार ५०० डलर जरिवाना गर्दै पाकिस्तान क्रिकेट इतिहासकै सबैभन्दा ठूलो आर्थिक दण्ड दिइएको छ ।
नसीममाथिको कारबाहीले यस वर्षको पिएसएललाई थप तनावपूर्ण बनाएको छ, जहाँ अन्य खेलाडीहरू पनि विभिन्न अनुशासन उल्लङ्घनका कारण कारबाहीमा परेका छन् । फास्ट बलर शाहिन शाह अफ्रिदीलाई कडा सुरक्षा प्रोटोकल उल्लङ्घन गरेको भन्दै तीन हजार ५०० डलर जरिवाना गरिएको छ भने ब्याट्सम्यान फखर जमान बल टेम्परिङको आरोपमा अनुसन्धानको घेरामा परेका छन ।
नसीमले गत बिहीबार लाहोर कलन्दर्स र हैदराबाद किङ्ग्समेनबीचको खेलअघि आयोजित उद्घाटन समारोहमा पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको उपस्थितिलाई लिएर सामाजिक सञ्जाल एक्समा कटाक्ष गरेका थिए । व्यापक रूपमा फैलिएको उक्त पोस्टमा उनले ‘उनलाई किन लड्र्समा रानीजस्तै व्यवहार गरिन्छ रु’ भन्ने टिप्पणी गरेका थिए । उक्त पोस्ट तुरुन्तै हटाइए पनि त्यसले ठूलो विवाद निम्त्यायो ।
पछि नसीमले आफ्नो सामाजिक सञ्जाल खाता ह्याक भएको दाबी गरेका थिए । तर पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उक्त दाबी स्वीकार नगरी उनलाई तीन सदस्यीय अनुशासन समितिसमक्ष उपस्थित हुन निर्देशन दिएको थियो । रावलपिन्डीबाट खेल्ने नसीमले समितिसामु माफी माग्नुभएको भए पनि बोर्डले कडा निर्णय गर्दै रेकर्ड जरिवाना सुनाएको हो ।
उता, शाहिन शाह अफ्रिदीमाथि पनि सुरक्षा नियम उल्लङ्घन गरेको आरोप लागेको छ । लाहोरस्थित टोली होटलमा उनले निर्धारित नियमविपरीत टोलीका सहकर्मी सिकन्दर राजाको कोठामा बाह्य आगन्तुकहरू लैजान खोज्नुभएको भन्दै कारबाही गरिएको बताइएको छ । पञ्जाब प्रहरीले अनुमति नदिएको अवस्थामै उक्त कार्य गरिएको आरोप छ ।
यसै क्रममा फखर जमानमाथि बल टेम्परिङको गम्भीर आरोप लागेको छ । आइतबार कराची किङ्ग्सविरुद्धको खेलमा अन्तिम ओभरमा भएको घटनापछि अम्पायरले बलको अवस्था परिवर्तन गरिएको ठहर गर्दै विपक्षी टोलीलाई पाँच पेनाल्टी रन दिएका थिए । त्यसअघि जितका लागि १४ रन आवश्यक रहेको अवस्थामा उक्त निर्णयपछि लक्ष्य घटेर नौ रनमा सीमित भएको थियो, जसले खेलको नतिजामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
पिएसएलले सोमबार जारी गरेको वक्तव्यमा फखरमाथि खेलको सर्त उल्लङ्घन गरेको आरोप लगाइएको जनाएको छ, जसअनुसार बलको अवस्था परिवर्तन गर्ने कुनै पनि कार्य दण्डनीय मानिन्छ । यदि आरोप पुष्टि भएमा उनलाई एकदेखि दुई खेलसम्म प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको छ ।
यसपटकको पिएसएल इरानसँगको क्षेत्रीय तनावका कारण थप प्रभावित बनेको छ । इन्धन आपूर्तिमा चिन्ताका कारण खेलहरू दर्शकविना बन्द ढोकाभित्र सञ्चालन भइरहेका छन् भने प्रतियोगिता सामान्यतया हुने छ सहरको सट्टा दुई स्थानमा मात्र सीमित गरिएको छ । यस्तो अवस्थामा खेलसँगै विवाद पनि बढ्दै जाँदा लिगको छवि र सञ्चालन दुवै चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
प्रकाशित समय : १८:१४ बजे




















