गृहपृष्ठ रौतहट जिल्ला अदालत सार्वजनिक बिदामा पनि खुल्ने
रौतहट जिल्ला अदालत सार्वजनिक बिदामा पनि खुल्ने
रौतहट जिल्ला अदालत सार्वजनिक बिदा होली पर्वमा पनि खुला रहने भएको छ । अदालतले सूचना जारी गर्दै होली पर्व, सार्वजनिक बिदा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिमा पनि विशेष प्रकृतिका सेवा प्रवाह जारी रहने अदालतका शाखा अधिकृत तिलकुमारी ढकालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाल सरकारले फागुन १९ गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि मधेसका जिल्लामा फागुन १९ गते होली पर्वका कारण तथा फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समेत सार्वजनिक बिदा परेकाले सो अवधिमा अदालत बन्द रहने भए पनि केही अत्यावश्यक सेवा भने सञ्चालन गरिने जनाइएको छ ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ (१) बमोजिम बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन सुनुवाइ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने कार्यका लागि विशेष व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।
प्रकाशित समय : १८:१२ बजे



















