गृहपृष्ठ बाधा चिर्दै एसियन कपमा बङ्गलादेश
बाधा चिर्दै एसियन कपमा बङ्गलादेश
This photograph taken on February 21, 2026 shows Bangladesh women's junior football team taking part in a training session at the National Stadium in Dhaka. Bangladesh's national football team face daunting odds at their first-ever Women's Asian Cup, but have already scored a major victory by qualifying. In the South Asian nation of 170 million, social stigma, family expectations, poverty and religious hardliners have long relegated women and girls to sports sidelines. (Photo by Munir UZ ZAMAN / AFP) / To go with 'FBL-ASIA-2026-WOMEN-BAN' FOCUS
सामाजिक कलङ्क, गरिबी, धार्मिक कट्टरता र पारिवारिक दबाबका वर्षौंको अवरोध पार गर्दै बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक महिला एसियन कपमा स्थान बनाउन सफल भएको छ । अस्ट्रेलियामा मार्च ३ देखि सुरु हुने प्रतियोगितामा डेब्यू गर्न लागेको टोलीका लागि यो केवल खेल उपलब्धि मात्र नभई लैङ्गिक विभेदविरुद्धको ऐतिहासिक जीत पनि बनेको छ ।
करिब १७ करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रमा महिला खेलाडी बन्नु सजिलो छैन । विशेषगरी ग्रामीण क्षेत्रमा केटीहरूलाई खेलकुदबाट टाढा राख्ने सामाजिक दबाब गहिरो छ । सर्ट लगाएर फुटबल खेल्नु अभद्र ठान्ने धारणा अझै जीवित छ । कप्तान अफिदा खान्डाकरले समुदायबाट पर्याप्त साथ पाएको भए अझ धेरै केटीहरू टोलीमा जोडिन सक्ने बताए । उनका अनुसार धेरैले प्राथमिक तहपछि नै फुटबल छोड्नुपरेको छ, कतिपयलाई सानै उमेरमा विवाहका लागि दबाब दिइएको छ ।
बीस वर्षीया खेलाडी एन्निमा खानम रिचीले आफ्ना धेरै साथीहरूलाई खेलबाट हटाएर व्यवस्थित विवाह गराइएको स्मरण गरे । परिवारहरूले सामाजिक दबाब सहन नसक्दा छोरीहरूलाई मैदानबाट टाढा राख्ने गरेको भनाइ छ । कप्तान खान्डाकरले पनि आफ्ना आमाबाबुले—विशेषगरी आमाले—कटु टिप्पणी सहेर आफूलाई अघि बढाउन साथ दिएको उल्लेख गरे । पाँच वर्षको उमेरदेखि फुटबल खेल्दै आएको हो ।
सन् २०११ मा पहिलो महिला लिग सुरु भएको बङ्गलादेशमा दुई वर्षयताको राजनीतिक उथलपुथलले थप चुनौती थपेको थियो । सन् २०२४ को विद्रोहपछि सक्रिय इस्लामवादी समूहहरूले महिलामाथि ‘अपर्याप्त विनय’ को आरोप लगाउँदै दबाब बढाएका थिए । हिंसाको धम्कीका कारण गत वर्ष केही खेल रद्दसमेत भएका थिए । हालै सम्पन्न आम निर्वाचनमा विजयी बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० ले महिला अधिकारको समर्थन गर्ने वाचा गरेको छ, तर इस्लामवादी दलहरूको बढ्दो प्रभावले लैङ्गिक नीतिबारे चिन्ता कायमै छ ।
बङ्गलादेश फुटबल महासङ्घका प्रशिक्षक सैफुल बारी टिटुले महिला टोलीले धेरै विरोध झेलेर यहाँसम्म पुगेको बताए । उनका अनुसार पछिल्ला वर्षमा आधारभूत संरचना विस्तार भएको छ र देशभर ४० भन्दा बढी क्लबले नौ वर्षदेखि केटीहरूलाई प्रशिक्षण दिन थालेका छन् । सन् २००८ अघि राष्ट्रिय महिला टोली नै नभएको स्मरण गर्दै महिला शाखा प्रमुख महफुजा अख्तर किरोनले खेलाडीहरूको जीविकोपार्जन सुनिश्चित गर्नु प्राथमिकता रहेको बताए । पुरुष खेलाडीको तुलनामा पारिश्रमिक कम भए पनि उक्त आम्दानीले धेरै परिवारलाई स्थायित्व दिएको उनको भनाइ छ ।
अधिकांश खेलाडी सीमान्तकृत परिवारबाट आउने गरेका छन् । कप्तानका बुबा खन्डाकर आरिफ हुसेन प्रिन्सका अनुसार धेरै अभिभावक रिक्शाचालक, मजदुर वा साना व्यवसायी भएकाले आर्थिक अभावका कारण छोरीहरूले खेल छोड्ने अवस्था आउँछ । प्रायोजकहरूको चासो बढ्दै जाँदा समाजको मनोवृत्ति विस्तारै परिवर्तन भइरहेको खेल अधिकारीहरूको विश्वास छ ।
अब बङ्गलादेशले आफ्नो पहिलो खेल नौ पटकको एसियाली च्याम्पियन चीनसँग खेल्दै अभियान सुरु गर्दैछ । चीन र उत्तर कोरिया जस्ता शक्तिशाली टोलीहरूसँग प्रतिस्पर्धा कठिन हुने कप्तान खान्डाकरको स्वीकारोक्ति छ, तर टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दृढता व्यक्त गरे। एसियन कपको मैदानमा उत्रँदा बङ्गलादेशी खेलाडीहरूका लागि यो केवल खेल प्रतियोगिता नभई समानताको सङ्घर्षको निरन्तरता हुनेछ ।
प्रकाशित समय : १३:३१ बजे


















