global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

चितवनको सामुदायिक वनले रुखका जराहरूमा विभिन्न किसिमका आकृति कुँदेर ‘जरा उद्यान’ निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्रका जराहरूमा आकृति कुँदेर जरा उद्यान बनाउन लागेको हो ।

नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद तिमिल्सिनाका अनुसार अहिले सुरुआती समयमा चारवटा जरामा आकृति कुँदिएको छ । जसमा शिव, गणेश, गौतमबुद्धको आकृति छन् भने एउटामा विभिन्न किसिमका जनावरको आकृति रहेको छ । हामीले १६ वटा जारामा आकृति दिएर राख्ने योजनासहित काम गरिरहेका छौँ ।

अन्य जराहरूलाई सफा गरेर रङ लगाएर राख्ने योजना रहेको उनले सुनाए । उनका अनुसार जरामा कुर्सी बनाउने, ढिकी, रङ्गटे पिङ, चिप्लेटी, पिर्के पिङलगायत काठका सामान निर्माण गरिनेछ । यस्तै जरामा बाघ, गैँडा, जरायो, चित्तल, विभिन्न किसिमका चराको आकृति निर्माण गरी आकर्षक बनाइनेछ ।

रुखका जरालाई सदुपयोग गर्दै पर्यापर्यटनसँग जोड्ने काम गर्न लागिएको उनले बताए । यही सामुदायिक वनभित्र रहेका किङफिसर तालको संरक्षण गर्दै वन, वन्यजन्तु र वातावरणलाई प्रभाव नपार्ने गरी पर्यटनसँग जोड्ने योजनाका साथ काम गरिएको उनले जानकारी दिए । यस वनका उपभोक्तालाई आयआर्जनसँग जोड्न टेवा पुग्ने विश्वास लिइएको उनले बताए । उनले भने, “सीमित स्रोतसाधनका बीच काम अघि बढाएका छौँ । ‘स्टोन पार्क’को मोडलमा यसलाई विकास गर्ने योजना छ ।”

अहिले जरामा आकृति निर्माणका लागि स्थानीय कालिगढहरूले काम गरिरहनुभएको छ । अहिले दैनिक चार जना कालिगढले जरामा विभिन्न किसिमका आकृति बनाउने काम गरिरहेका छन । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मनोरञ्जन लिन मिल्नेगरी जरा पार्क निर्माण गर्न लागिएको हो ।

यहाँका मध्यवर्ती सामुदायिक वनहरूले पार्क निर्माण गरेर आयआर्जनका काम गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसमेत यस्ता पार्कमा रमाउने गरेका छन् ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु