global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दीमा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूले समन्वय गरेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेका हुन् । माघमा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने सङ्घीय सरकारको कार्यक्रमअनुसार जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक तथा नसर्ने रोग सम्पर्क व्यक्ति मीनराज न्यौपानेले बेनी नगरपालिकामा माघ १५ गतेदेखि सुरु भएको अभियान रघुगङ्गा र धवलागिरि गाउँपालिकाले माघ २१ देखि सञ्चालनको तयारी गरेका जानकारी दिए ।

“यो अभियानमार्फत ३० वर्षभन्दा बढी उमेर पुगेका हाल कुनै पनि रोगको औषधि सेवन नगरेकाको मधुमेह, रक्तचाप र मिर्गौलाको परीक्षण हुन्छ”, उनले भने, “नसर्ने रोगका बिरामीको पहिचान गरी समयमै उपचारको पहुँचमा पु-याउन अभियान सञ्चालन भएको हो ।”

मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाले पनि यही महिनाभित्र स्वास्थ्यकर्मी परिचालन गरेर नसर्ने रोगका बिरामी पहिचान अभियान सञ्चालन गर्ने तयारीमा रहेका न्यौपानेले बताए । प्रदेश अस्पताल बेनीमा भने मधुमेह, रक्तचाप, मिर्गौला, मुटुको परीक्षणको सुविधा निःशुल्क उपलब्ध गराइएको छ ।

टोलटोलमा जाने स्वास्थ्यकर्मीहरूले ‘किट’को प्रयोग गरेर परीक्षण गर्ने र समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउनेछन् । विश्वभर र नेपालमा ७० प्रतिशत मृत्युको कारण बनेको नसर्ने रोगको समयमै पहिचान र उपचार गर्न सकेमा क्षति रोकिने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए ।

अस्वस्थकर खानपान, ध्रुमपान, मद्यपान, शारीरिक व्यायामको कमीका कारण पछिल्लो समय उच्च रक्तचाप, मिर्गौला, मुटुलगायत नसर्ने रोगको सिर्जना हुने र मानिसको ज्यान जाने गरेको उनले बताए ।

रघुगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले नसर्ने रोगको पहिचानका लागि माघ २१ देखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको अभियानको तयारीका लागि आइतबार स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको बताए ।

आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापन गरिएको उनले बताए। गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नसर्ने रोग स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतीका रूपमा देखिएको बताए ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु