गृहपृष्ठ संशोधनसहित दफावार छलफल गर्ने प्रस्ताव स्वीकृत
संशोधनसहित दफावार छलफल गर्ने प्रस्ताव स्वीकृत
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ माथि परेको संशोधन प्रस्तावलाई छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।
आइतबार बसेको प्रदेशसभाको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले उक्त विधेयकमाथि संशोधनसहित दफावार छलफल गर्न विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा सदस्य डा ताराप्रसाद जोशीले पदबाट दिएको राजीनामा पछि डडेलधुरा जिल्ला प्रदेशसभा–२ को प्रदेशसभा सदस्य पद रिक्त भएको ब्यहोरा जानकारी गराए । तीन वर्षअघिको निर्वाचनमा डडेलधुरा, प्रदेशसभा–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित डा जोशी आसन्न प्रतिनिधिसभा सदस्यका लागि सोही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् ।
बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले चिसापानी—जङ्गलघाट—बडीमालिका सम्मको सडकअन्तर्गत जङ्गलघाटमा पुल निर्माणको प्रक्रिया सङ्घीय सरकारबाट रद्द गर्न लागिएको प्रति विरोध जनाउँदै पुल निर्माण कार्यलाई निरन्तरता दिन ध्यानाकर्षण गराए ।
प्रकाशित समय : ०६:३२ बजे





















