global ime bank Long Banner Ad

गृहपृष्ठ पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा

पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा

पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा

नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने अभ्यासात्मक काउन्टडाउन (र्प्याक्टिस काउन्टडाउन) सुरु गरेको हो, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियासम्म पुग्ने तयारी परीक्षण गर्नेछ । यो परीक्षण सफल भएमा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि घुमाएर पृथ्वी फर्काउने मिसनको प्रक्षेपण मिति तय हुने नासाले जनाएको छ ।

कमाण्डर रिड वाइजम्यानको नेतृत्वमा रहेका अन्तरिक्ष यात्रीहरू हाल स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टिनमा छन् । उनिहरू सन् १९७२ पछि चन्द्रमातर्फ यात्रा गर्ने पहिलो मानव टोली हुनेछन् । अन्तरिक्ष यात्रीहरूले टेक्सासको ह्युस्टनस्थित नासा केन्द्रबाट अभ्यास प्रक्रियाको निगरानी गर्नेछन् र रकेट उडानका लागि स्वीकृत भएपछि केनेडी स्पेस सेन्टरतर्फ प्रस्थान गर्नेछन् । तीन सय २२ फिट अग्लो ‘स्पेस लञ्च सिस्टम’ रकेट दुई साताअघि नै प्रक्षेपण स्थलमा सारिएको थियो ।

यदि सोमबार हुने इन्धन भर्ने परीक्षण सफल भएमा नासाले एक साताभित्र प्रक्षेपण गर्ने तयारी गर्न सक्ने जनाएको छ । परीक्षणका क्रममा रकेटमा सात लाख ग्यालोनभन्दा बढी अत्यन्त चिसो इन्धन भरिनेछ, जुन इन्जिन प्रज्वलन हुनुभन्दा करिब ३० सेकेन्डअघिसम्म पुगेर रोकिनेछ । यसअघि अत्यधिक चिसो मौसमका कारण इन्धन परीक्षण र प्रक्षेपण तालिका दुई दिन पछि सरेको थियो । हालका अनुसार फेब्रुअरी ८ सबैभन्दा चाँडो सम्भावित प्रक्षेपण मिति हो ।

‘ओरियन’ क्याप्सुलमा सवार अमेरिकी र क्यानाडाली अन्तरिक्ष यात्रीहरू चन्द्रमाको वरिपरि घुमेर बिना अवतरण पुनः पृथ्वी फर्कनेछन् । करिब १० दिन लामो यस मिसनको अन्त्य प्रशान्त महासागरमा अवतरण (स्प्ल्यासडाउन) भएर हुनेछ । यसअघि अपोलो कार्यक्रमअन्तर्गत सन् १९६८ देखि १९७२ सम्म नासाले २४ जना अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाएको थियो, जसमा १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए ।

 

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु