गृहपृष्ठ ‘व्यावहारिक’ साझेदारी जोगाउन स्टार्मर चीन भ्रमणमा
‘व्यावहारिक’ साझेदारी जोगाउन स्टार्मर चीन भ्रमणमा
बेलायती प्रधानमन्त्री किर स्टार्मरले बुधबार चीनको तीन दिने औपचारिक भ्रमण सुरु गरेको छ । लामो समयदेखि चिसिएको सम्बन्धपछि लन्डन र बेइजिङबीचको ‘व्यावहारिक’ साझेदारीलाई जोगाउने उद्देश्यले यो भ्रमण गरिएको बताइएको छ । सन् २०१८ पछि बेलायती प्रधानमन्त्रीको बेइजिङमा यो पहिलो भ्रमण हो ।
चीन पुग्नुअघि स्टार्मर जापानमा छोटो समयका लागि रोकिनुहुनेछ, जहाँ उनले प्रधानमन्त्री साने ताकाइचीसँग भेट गर्ने कार्यक्रम छ । पछिल्ला हप्ताहरूमा केही पश्चिमी नेताहरूले चीनसँग सम्बन्ध सुदृढ गर्ने प्रयास गरिरहेका बेला यो भ्रमणलाई त्यसैको निरन्तरता मानिएको छ ।
स्टार्मर बुधबार बिहान बेइजिङ आइपुग्नुहुनेछ । बिहीबार उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछ भने प्रधानमन्त्री ली किआङसँग पनि छलफल हुने कार्यक्रम छ । डाउनिङ स्ट्रिटका अनुसार भेटवार्तामा व्यापार, लगानी र राष्ट्रिय सुरक्षाका विषय प्रमुख रहनेछन् । स्टार्मरले चीन भ्रमणलाई ‘अत्यन्त महत्त्वपूर्ण’ बताउँदै केही ठोस प्रगति हुने अपेक्षा व्यक्त गरेको छ ।
उनले चीनतर्फ उडानका क्रममा पत्रकारहरूसँग कुरा गर्दै द्विपक्षीय सम्बन्ध गहिरो बनाउने अवसरहरू रहेको बताए । चीनसँग व्यवहार गर्दा राष्ट्रिय सुरक्षामा सम्झौता नगर्ने तर यथार्थपरक दृष्टिकोण अपनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि यो भ्रमणलाई राजनीतिक आपसी विश्वास बढाउने अवसरका रूपमा लिने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूका कारण अमेरिका र उसका सहयोगीहरूबीच तनाव बढिरहेका बेला चीनले आफूलाई भरोसायोग्य साझेदारका रूपमा प्रस्तुत गर्न खोजेको विश्लेषण गरिएको छ ।
सन् २०२० मा हङकङमा कडा राष्ट्रिय सुरक्षा कानून लागू भएपछि बेलायत–चीन सम्बन्ध बिग्रिएको थियो । त्यसपछि दुवै देशबीच जासुसीसम्बन्धी आरोप–प्रत्यारोपले सम्बन्ध थप कमजोर बनायो । यद्यपि स्टार्मर सन् २०२४ मा सत्ता सम्हालेपछि चीनसँग सम्बन्ध पुनःस्थापित गर्न प्रयासरत छन् ।
यस भ्रमणमा स्टार्मरका साथ वित्त, औषधि, अटोमोबाइल लगायत क्षेत्रका किरब ६० जना व्यापारी र सांस्कृतिक प्रतिनिधि सहभागी छन् । चीनबाट लगानी आकर्षित गर्ने र आर्थिक सहयोग बढाउने लक्ष्यमा लागि परेका छन् ।
भ्रमणका क्रममा हङकङका प्रजातन्त्र समर्थक मिडिया व्यवसायी जिमी लाईको मुद्दा पनि उठ्ने अपेक्षा गरिएको छ । यद्यपि स्टार्मरले यसबारे विस्तृत टिप्पणी नगरे पनि असहमति भएका विषयमा खुला संवाद गर्नु नै संलग्नताको अर्थ हुने बताएको छ ।
यसैबीच, बेलायतमा प्रस्तावित नयाँ चिनियाँ दूतावास योजनालाई लिएर सरकार आन्तरिक विरोधको सामना गरिरहेको छ । युक्रेन युद्धमा रूससँग चीनको नजिकिएको सम्बन्ध र मानव अधिकारका विषयमा पनि बेलायत र चीनबीच मतभेद कायम छन् । रासस
प्रकाशित समय : १६:३१ बजे


















