गृहपृष्ठ मुस्ताङमा ११ हजार ३२८ जना मतदाता : ३९ मतदान केन्द्र कायम
मुस्ताङमा ११ हजार ३२८ जना मतदाता : ३९ मतदान केन्द्र कायम
आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँ पालिकास्थित पाँचवटा मतदान स्थल तथा मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मी लगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका आठ वटा मतदान केन्द्र तथा मतदान स्थलमध्ये पाँच वटाको संयुक्त अनुगमन गरेको हो ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रको शान्तिसुरक्षाको अवस्था तथा मतदान केन्द्र तथा मतदानस्थलको वस्तुगत अवस्था र मतदान दातालाई निर्भिकतापूवर्क मतदान गर्न पाउने संवैधानिक हक अधिकारको सुनिश्चितता गराउने उद्देश्यले यहाँका मतदान केन्द्र तथा मतदानस्थलको स्थलगत अनुगमन गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
जिल्लाको थासाङ गाउँपालिकास्थित घाँसा, छयो, लेते, कोवाङ र कोवाङ मतदान केन्द्र तथा मतदानस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गरिएको उनको भनाइ छ ।
यसैगरी थासाङमा बाँकी रहेका कालीगण्डकी पारीका सौरु, कुञ्जो र झिप्रा देउराली लगायतका मतदानस्थलको अर्को चरणमा अनुगमन गरिने निर्वाचन अधिकारी ज्ञवालीले बताए ।
मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयनपत्र दाखिला, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लगायतका काम सकिए लगत्तै थासाङ गाउँपालिकामा मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले बताए ।
यसअघि जिल्ला सुरक्षा समिति जिल्लाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उपल्लो मुस्ताङका विभिन्न मतदान केन्द्र तथा मतदानस्थलको अनुमगन सम्पन्न गरेको थियो । प्रजिअ अजिता शर्मा नेतृत्वको जिल्ला सुरक्षा समिति लगायतको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२८ मतदान केन्द्र तथा मतदान स्थलमध्ये २५ को स्थलगत अनुगमन सम्पन्न गरेको थियो ।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड स्थित ताङ्ग्या र ढी मतदान स्थल र बारागुङ मुक्तिक्षेत्रको साङ्ता मतदानस्थलको अनुमगन गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लाका पाँच पालिकामा ३९ मतदान केन्द्रस्थल छन् । यस अन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ-२ सम्जुङ मतदान केन्द्रलाई सोही वडाको दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा ठाउँ सारी (मर्ज) गरिएको छ ।
लोघेकर दामोदरकुण्ड-४ मा यसअघिको मतदान केन्द्र रहेकोमा थप अर्को एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिए ।
जिल्ला ११ हजार तीन सय २८ जना मतदाता छन् । यहाँको घरपझोङमा दुई हजार चार सय ९२, थासाङमा दुई हजार नौ सय ७, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३९, लोघेकर दामोदर कुण्डमा एक हजार पाँच सय ४२ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित समय : २०:४७ बजे



















