गृहपृष्ठ दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् ।
मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरू के–कस्ता ‘एजेन्डा’ लिएर आउँछन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा आममतदाता विभिन्न अड्कलबाजी गरिरहेका छन् ।
अघिल्ला निर्वाचनको तुलनामा यसपटक पुराना दल र नयाँ दल, पुराना उम्मेदवार र नयाँ उम्मेदवारका विषयमा सहर र गाउँमा मात्रै होइन, चोक र चिया पसलमा समेत आ–आफ्नो कोणबाट चर्चापरिचर्चा गरिरहेको पाइन्छ । कसिलो बन्दै गएको निर्वाचन आचारसंहिता र प्रविधिको बढ्दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा ‘डिजिटल शैली’ अपनाउन थालिएको छ ।
जसले गर्दा विगतमा आमसभामार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्ने र उठेका विषयवस्तुबारे स्पष्ट पार्ने कार्य अहिले सामाजिक सञ्जाल दह्रिलो माध्यम बनेको छ । उम्मेदवारहरूले भौतिक रूपमा सम्भव नभएको अवस्थामा सामाजिक सञ्जाललाई नै चुनाव प्रचारको माध्यम बनाएका छन् ।
औपचारिक रूपमा आगमी फागुन ३ देखि १८ गतेसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । उम्मेदवारी दर्ता भएका दिनदेखि नै उम्मेदवारहरू आ–आफ्नो ढङ्गले मतदातासँगको साक्षात्कारमा पुगेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव सापकोटा उम्मेदवारलाई मतदातालाई कसरी खुसी पार्ने भन्ने दबाबका बीच विधायिकाको भूमिका पनि बुझाउने प्रयासमा रहेको बताउछन ।
“सहरी क्षेत्रका मतदाता परिवर्तन, सुशासनलगायत मुद्दामा केन्द्रित हुनुन्छ भने ग्रामीण क्षेत्रमा त्यहाँको पूर्वाधार र विकास निर्माणमा जोड छ । कानुन निर्माणको विषयमा कम चासो व्यक्त भएको छ”, मतदातासँगको साक्षात्कारमा रहेका नेता सापकोटाले भने ।
उनका अनुसार नवपुस्ताले विभिन्न समृद्ध मुलुकसँग तुलना गरेर उम्मेदवारसँग प्रश्न गर्ने गरेका छन् । नयाँ पुस्ताको तीव्र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्छ । सो क्षेत्रमा स्वतन्त्र र राजनीतिक दलका गरी १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
“अघिल्लो र अहिलेको निर्वाचन नितान्त नयाँ पृष्ठभूमिमा हुन लागेकाले यो निरन्रता मात्रै नभई विशेष प्रकृतिको निर्वाचन हो, अघिल्ला निर्वाचन निरन्ततामा नियमितता थियो । यो आकस्मिकता र विशेष परिस्थितिमा भएको हुन लागेको छ”, उनले भने ।
मतदाता परिवर्तन र सक्षम उम्मेदवार छनोटको ‘मुड’मा रहेको आफूले पाएको नेता सापकोटाले बताए । “वर्षौंदेखि कुनै पार्टीमा आबद्धता भएका मतदाता पनि उम्मेदवारलाई हेरेर मतदान गर्छौं भन्ने विचारमा हुनुहुन्छ”, उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बर्तौलाले मतदातासँगको अन्तरक्रियामा पाँच वर्षका लागि निर्वाचित गरेर पठाएकामा ३२ महिना पुग्दा नपुग्दै पुनः निर्वाचनमा फर्कने स्थिति कसका कारण बन्यो भनेर जिज्ञासा राख्ने गर्नुभएको बताए।
प्रकाशित समय : १५:०२ बजे


















