global ime bank Long Banner Ad

गृहपृष्ठ भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठूलो मात्रामा नेपालमा दूध आउने गर्दथ्यो ।
विगतका वर्षमा यो मौसममा भारतबाट अवैैध दूध भित्रिँदा यहाँको उत्पादन प्रभावित हुने गर्दथ्यो । यससँगै यहाँ उत्पादन भएको दूधलाई बिक्री गर्न नसकेपछि प्रशोधन गर्न बाध्य हुनुपथ्र्यो । यस वर्ष भारतमा दूधको मूल्य बढेपछि यहाँको दूध सीमा क्षेत्रबाट अवैध रुपमा भारतका बजारमा जान थालेको छ । जसका कारण नेपाली उत्पादनले बजार पाएको छ ।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार भारतमा दूधको मूल्य नेपालको भन्दा ४६ पैसा मात्र बढी छ । जसका कारण भारतीय बजारबाट विगतमा अवैध रुपमा आउने गरेको दूध यस वर्ष आएको छैन । उनले भने, “ढुवानी जोड्दा नेपालीभन्दा महँगो पर्ने भएपछि भारतबाट दूध आएको छैन, यहाँको लुकीछिपी सीमा क्षेत्रबाट भारत लगिएको छ ।”
यहाँको सीमा क्षेत्रबाट भारतको पट्नालगायत सीमा क्षेत्रमा लुकाई–छिपाई दूध गएको सूचना आएको उनि बताउछन । यससँगै भुक्तानी समयमा नपाउँदा किसानले पशुपालनमा रुचि कम गरेका कारण उत्पादन पनि घटेको उनको भनाइ छ ।
यो मौसममा यकिन तथ्याङ्क नभए पनि दैनिक ४५ लाख हाराहारी लिटर दूध उत्पादन हुने गरेको उनि बताउछन । गत वर्षको तुलनामा एक लाख हाराहारी लिटर दूध घटेको उनको भनाइ छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले यस वर्ष भारत तर्फबाट दूध नआउँदा यहाँ उत्पादित दूधले बजार पाएको बताउछन । उनको भनाइमा मङ्सिर, पुस र माघ महिना दूधको खपत कम हुने भएकाले उत्पादनको व्यवस्थापन जटिल हुने गर्दछ । जाडो महिनामा दही, आइसक्रिम जस्ता दुग्धजन्य उत्पादन खपत नहुने उहाँ बताउछन । उनले भने “भारततर्फबाट दूध नआउँदा हामीलाई ठीक भएको छ, यहाँको बजार मिलेको छ ।” विगतका वर्षमा मिल्क होलिडे पनि गर्नु परेको भन्दै उनले अहिले बजारमा उत्पादित दूध खपत भइरहेको बताए ।
दूध बिक्री नभएपछि प्रशोधनका लागि यहाँको चितवन मिल्कमा यो समयमा धेरै दूध आउने गर्दथ्यो । चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीले विगतका वर्षमा तीन दिनसम्म कन्टेनर सडकमा लाइन बस्ने गरेको भन्दै उनले यो वर्ष त्यस्तो अवस्था नरहेको बताए । गत वर्षमा दैनिक दुई लाख लिटर दूध आउने गरेकामा यो वर्ष ७० हजार लिटर हाराहारी मात्रै आएको बताउछन ।
असार, साउनमा यहाँ प्रशोधनका लागि दूध आउँदैन । भदौदेखि जेठसम्म प्रशोधनका लागि दूध आउने गर्दछ । यो वर्ष भदौ, असोजमा महिनाको चार लाख लिटर हाराहारी, कात्तिकमा १० लाख हाराराहारी, मङ्सिरमा १५ लाख हाराहारी र पुसमा २० लाख हाराहारी दूध आएको भन्दै उनले गत वर्षको तुलनामा निकै कम भएको बताए । उनले स्मरण गर्नुभयो, “गत वर्षमा नौनी र दूध पाउडर राख्ने ठाउँ नभएर उद्योग बन्द गर्नुपर्ने अवस्था हुन्थ्यो, अहिले अवस्था त्यस्तो छैन ।”
भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क अहिले सहकारी र डेरीहरूले शुल्क तिरेर प्रशोधन गर्न दूध ल्याउने गर्दछन् । चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ ।
नौ करोड बढीको सुन्तला बिक्री
जिल्लामा सुन्तलाखेती गर्दै आएका किसानले नौ करोड १० लाख बराबरको सुन्तला बिक्री गरेका छन् । कृषि विकास कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ का किसानले सो रकम बराबरको सुन्तला बिक्री गरेका हुन् ।
कार्यालयका अर्थविज्ञ निर्मलकुमार पौडेलका अनुसार यस वर्ष जिल्लामा एक हजार दुई दशमलव आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा ९२ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ आर्थिक बर्ष २०८०/८१ मा एक हजार ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
पुराना बिरुवाको वृद्धावस्था, सुन्तला बगैँचा व्यवस्थापनमा कम चासो हुँदा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको पौडेलले जानकारी दिए । उनका अनुसार बेमौसमी वर्षा वा खडेरी, रोग किराको समस्या, उचित मलजलको कमीका कारण सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तालको बोटमा फल लाग्न नदिने सिट्रस ग्रिनिङ रोगको समस्या, सिजनमा मल र बोटका हेरचाहमा ढिलाइ र बजारमा मूल्य अस्थिरता हुँदा किसानमा चुनौती थपिएको उनले बताए।
सुन्तला उत्पादनका दृष्टिले प्रचुर सम्भावना भएको इच्छाकामना गाउँपालिकामा वैज्ञानिक प्रविधि र प्राविधिकको सहयोगबाट उत्पादन वृद्धि गर्नतर्फ लाग्न जरुरी रहेको उनले बताए । यहाँको सुन्ताल नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ, पोखरालगायत सहरहरूमा बिक्री हुँदै आएको छ ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु