नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे
वि.सं.२०८२ पुस २२ मंगलवार २०:५०
shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेट खेलले खेलाडी र दर्शकलाई समेत उत्साहित बनाइएको बताएका छन । आइसिसी टी–२० विश्वकप ‘ट्रफी टुर’ अन्तर्गत पोखरामा आज प्रदर्शन गरिएको विश्वकपको ट्रफी अवलोकन गर्दै उनले नेपालमा क्रिकेटमा छुट्टै आकर्षण बढेको उल्लेख गरे।
“नेपाली खेलाडीले आइसिसीका प्रतियोगिता खेल्ने क्रम वृद्धि भएको छ । यसबाट क्रिकेटको छुट्टै क्रेज बढेको छ, यसबाट सबैलाई उत्साहित बनाएको छ । नेपालमा विश्वकप ट्रफी ल्याउनु क्रिकेट प्रेमी र खेलाडीलाई खुसीको कुरा हो,” मुख्यमन्त्री पाण्डेले भने ।
युवाहरूको क्रिकेट खेलप्रतिको आकर्षणलाई सम्बोधन गर्नका लागि सङ्घ सरकार प्रदेश सरकार मिलेर आधारभूत खेल पूर्वाधार विकासमा ध्यान दिनेसमेत उहाँले प्रतिबद्धता जनाए । मुख्यमन्त्री पाण्डेले आसन्न विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामनासमेत व्यक्त गरे ।
पोखरा ल्याइएको विश्वकप ट्रफी पोखरा रङ्गशालामासमेत प्रदर्शनका लागि राखिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, खेलकुदकर्मी, खेलाडी तथा सर्वसाधारणले ट्रफी अवलोकन गरे ।

























