गृहपृष्ठ गतिशील र समाधानउन्मुख संवादका लागि दोहा फोरम
गतिशील र समाधानउन्मुख संवादका लागि दोहा फोरम
विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत विश्वका ज्वलन्त चुनौतीबारे बृहत् बहस गर्ने अपेक्षा गरिएको दोहा फोरम शनिबार सुरु भएको छ ।
विश्वका राष्ट्र प्रमुख, नीतिनिर्माता र विश्वव्यापी विशेषज्ञलाई एक गतिशील र समाधानउन्मुख संवादका लागि एकैठाउँमा भेला गर्ने उद्देश्यसहित आयोजना भएको दुईदिने सो सम्मेलनले बढ्दो भू–राजनीतिक तनाव र मानवीय आवश्यकताहरूको पृष्ठभूमिमा मञ्चलाई बहुपक्षीय संलग्नताका लागि एक सामयिक केन्द्रका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।
कार्यसूचीमा समावेश मुख्य विषयमा गाजा सङ्कट, विश्वव्यापी स्वास्थ्य वित्त पोषण र सम्बद्ध राष्ट्रहरूले आवश्यक सेवाका लागि कोष जुटाउने जिम्मेवारीबारे बहस हुने आयोजकले बताएको छ । परिवर्तनशील राष्ट्रिय नीतिहरूको बीचमा विश्वव्यापी व्यापार मार्गहरूबारे पुनर्विचार गर्ने आवश्यकताबारे भेलामा गहन छलफल हुने अपेक्षा सहभागीले लिएका छन् ।
शनिबार सम्पन्न एक सत्रमा एआईको प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव र अमेरिका–चीन सम्बन्धमा गहन छलफल भएको छ । अमेरिका–चीन विवादको तरङ्गले विश्वभरको व्यापार प्रवाह र आपूर्ति शृङ्खलालाई प्रभावित पारेको भए पनि हालै भएका सहमतिले वैश्विक आर्थिक गतिविधिलाई पुनःआकार दिइरहेका भनी खुसी व्यक्त गरिएको छ ।
जोर्डनको अल अल बैत विश्वविद्यालयको बिजनेस स्कुल फर क्वालिटीका एशोसिएट डिन डा ओमर ख्लेफ अल घराइबेहले पत्रकारसँगको दूरदर्शी विश्लेषणमा फोरमका एजेन्डा र यसको प्रभावबारे भने, “विश्व भू–राजनीतिक अस्तव्यस्तता, सुस्त आर्थिक वृद्धि, आथिक हिसाबले शक्तिसम्पन्न राष्ट्रहरूबीच देखिने गरेको उतारचढावबीच भइरहेको अन्तरराष्ट्रिय दोहा फोरम विश्व अर्थतन्त्रको सन्तुलन र सुदृढीकराणका पक्षमा ऐतिहासिक क्षणसहित कोशेढुङ्गा सावित हुने छ ।”
उनले ‘व्यापारको भविष्यको पुनःकल्पना अब सैद्धान्तिकमात्र नरही, यो लचिलोपन र अनुकूलनशीलताका लागि विश्वव्यापी आर्थिक संरचनालाई पुनःव्यवस्थापन गर्नु एक रणनीतिक आवश्यकता’ भएको बताए । एशोसिएट डिनले रेखीय नमुनाहरूबाट हटेर बढ्दो जोखिमहरूको सामना गर्न मञ्चको स्थापना गरिएको र उदयमान यो वैचारिक ढाँचालाई लचिलो विश्वव्यापीकरणका रूपमा वर्णन गरे ।
यो परिवर्तन महत्त्वपूर्ण भए पनि यसले बढ्दो संरक्षणवाद र विश्व शक्तिहरूद्वारा आपूर्ति शृङ्खलालाई रणनीतिक रूपमा प्रयोग गरिनुजस्ता वास्तविक चुनौतीहरूको सामना गरिरहेको छ । उनले ‘यी गतिशीलताले विश्वव्यापी व्यापारको पुनर्गठनलाई कागजमा देखिनेभन्दा बढी जटिल बनाएको’ बताए ।
उनले भने, “लचिलो विश्वव्यापीकरण आपूर्ति शृङ्खलालाई विविधीकरण गर्ने, सीमित उत्पादन केन्द्रहरूमाथिको अत्यधिक निर्भरता घटाउने र महत्त्वपूर्ण उद्योगलाई चयन गरेर पुनःस्वदेशमा स्थापित गर्ने कुरामा निर्भर गर्दछ । यसले बजारको खुलापन र आर्थिक सुरक्षाबीच सन्तुलन कायम गर्ने नियामक सुधारको पनि माग गर्दछ ।”
यद्यपि, पछिल्लो समय तीव्र हुँदै गएका प्राविधिक लडाइँ र रणनीतिक प्रतिद्वन्द्विताले यी महत्वाकाङ्क्षालाई चुनौती दिइरहेको र यसले संवेदनशील क्षेत्रमा व्यापार नियमका लागि सहमति हुनबाट रोकिरहेको छ ।
प्रमुख थिङ्कट्याङ्क र विश्वव्यापी संस्थाहरूसँगको सहकार्यमा शनिबार भएको अर्को एक बहसमा अन्तरराष्ट्रिय आर्थिक सङ्कट, द्वन्द्व समाधान र दिगो शान्ति स्थापनामा क्षेत्रीय तथा विश्वव्यापी पात्रहरूको जिम्मेवारीबारे छलफल भएको छ ।
अन्तरराष्ट्रिय नीति अनुसन्धान केन्द्र, कोनराड एडेनौअर फाउन्डेसन र गल्फ अनुसन्धान केन्द्रसँगको सहआयोजनामा भएकोे सत्रले रणनीतिक अलगावको युगमा खाडी मुलुक र युरोपेली सङ्घ (इयु) सम्बन्धको बहस गरेको छ । यसमा परिवर्तनशील भू–राजनीतिक गतिशीलता र नवीकृत सहकार्यका अवसरहरूको मूल्याङ्कन गरिनेछ ।
फोरमले गेट्स फाउन्डेसनसँगको साझेदारीमा विश्वव्यापी स्वास्थ्य वित्त पोषणको अस्थिरतालाई पनि सम्बोधन गर्ने बताएको छ । जसमा घट्दो अन्तरराष्ट्रिय सहायताले हासिल गरेको प्रगतिलाई जोखिममा पार्ने अवस्थामा प्राथमिक स्वास्थ्य सेवा प्रणालीहरूलाई सुदृढ पार्न नयाँ खोजबारे बहस भएको छ ।
कृत्रिम बौद्धिकतालाई दुईधारी तरबारका रूपमा चित्रण गरिएको समस्यालाई जेजु पिस इन्स्टिच्युटको सहकार्यमा हुने अर्को सत्रको बहसमा एआईको जिम्मेवार सैन्य प्रयोगमा केन्द्रित भएर यसको विस्तृत विश्लेषण गरिएको छ ।
‘सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसन’सँगको एक सत्रमा बदलिँदो विश्व व्यवस्थामा जोखिम र अवसरहरू, व्यापार, कूटनीति र शक्तिको पुनःसंरक्षणमा यसको प्रभावको मूल्याङ्कनसहित विकसित हुँदै गरेको अमेरिका–चीन सम्बन्धको अध्ययन र असरबारे बहस भएको थियो ।
विश्वका १६० भन्दा बढी मुलुकका छ हजार बढी सहभागी र करिब ५०० वक्ताले दोहा फोरमलाई अझ प्रभावशाली र गरिमामय बनाएको छ । विश्वव्यापी संवाद मञ्चका रूपमा फोरमले सहयोग, जवाफदेहिता र साझा प्रगतिलाई अगाडि बढाउँदै कूटनीतिलाई साझेदारीसँग जोड्न प्रयास गरेको छ ।
उद्घाटन समारोहमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जस्सिम अल थानीले भने, “विश्वमञ्चमा कतारको भूमिका संवाद र मध्यस्थता कायम राख्न केन्द्रित छ । हामी कुनै पक्षको समर्थन नगरी, द्वन्द्व समाधान र मानवीय पीडा अन्त्यका लागि सहयोग गर्छौं ।” उनले गाजा र युक्रेनमा शान्ति स्थापनाको प्रयासमा कतारले सक्रिय भूमिका निर्वाह गरेको बताए ।
फोरमको अर्को एक सत्रले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनसँगको साझेदारीमा विश्वव्यापी स्वास्थ्य वित्त पोषणको अस्थिरताबारे छलफल गरेको थियो । त्यसक्रममा घट्दो अन्तरराष्ट्रिय सहायताले विश्वका स्वास्थ्य कार्यक्रमको प्रगतिलाई जोखिममा पार्ने अवस्था सृजना गरेकाले प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न नयाँ संरचनाको खोजी गर्न जरूरी भएकामा जोड दिइएको थियो ।
प्रकाशित समय : १२:२८ बजे




















