global ime bank Long Banner Ad

गृहपृष्ठ सहिष्णुताका माध्यमबाट संवाद, समावेशिता र सद्भावलाई मजबुत बनाइनुपर्नेमा जोड

सहिष्णुताका माध्यमबाट संवाद, समावेशिता र सद्भावलाई मजबुत बनाइनुपर्नेमा जोड

काठमाडौँ । असहिष्णुताले विभाजन र हिंसा जन्माउने भएकाले सहिष्णुताका माध्यमबाट संवाद, समावेशिता र सद्भावलाई मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ ।

अन्तरराष्ट्रिय सहिष्णुता दिवस १६ नोभेम्बरको अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको नागरिक संवाद कार्यक्रममा समाजमा सहिष्णुता, जिम्मेवारी, नैतिकता र सामाजिक उत्तरदायित्व आवश्यक रहेकामा जोड दिइएको हो ।

कार्यक्रमका प्रमुख वक्ता तथा समाजका संस्थापक कृष्ण पहाडीले सहिष्णुता कुनै कमजोरी नभई समाज रुपान्तरणको मूल धार भएको बताए । स्वीकार्यता, पारदर्शिता, जवाफदेहिता र खुलापन जस्ता मूल्यलाई आत्मसात गरेर मात्र समाजलाई सही दिशातिर अघि बढाउन सकिने उनको विचार थियो । “सहिष्णुताले समाजलाई द्वन्द्व होइन, संवादको बाटोतर्फ लगी देशलाई भ्रष्टाचार मुक्त बनाउँछ । सुशासन कायम गरी खराब मनोवृत्ति र विचार भएकालाई कानुनसम्मत कारबाही गर्न सहिष्णुताकै माध्यमबाट सहयोग पुग्छ”, पहाडीले भने ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले हालको समाज सामाजिक पहिचान, जिम्मेवारी र मानवीय व्यवहार बिर्सदै हिंसात्मक प्रवृत्तितर्फ उन्मुख हुँदा देशले गम्भीर असर भोग्नुपरेको उल्लेख गरे । आआफ्नो जिम्मेवारी निर्वाह नगरेसम्म समाज सुदृढ बन्न नसक्ने बताउँदै उनले नैतिक शिक्षा, सामाजिक संवेदनशीलता र अहिंसात्मक चरित्र आजको अत्यावश्यकता भएकोमा जोड दिए ।

केन्द्रीय सभापति रेणुका पौडेल र निवर्तमान सभापति तथा सल्लाहकार रामकृष्ण बरालले सहिष्णुता कमजोर बनाउने नभई बलियो बन्ने कला भएको धारणा राखे ।

समाजका मुगु जिल्ला सभापति चित्रबहादुर मल्ल, ललितपुर जिल्ला सभापति बाबुराम न्यौपाने, पूर्वसभापति मनबहादुर थापालगायतले सहिष्णुता मानव सभ्यताको मेरुदण्ड भएको र यसलाई व्यवहारमा उतार्न सबै तहका नागरिक सक्रिय हुनुपर्नेमा जोड दिए ।

काठमाडौँ शाखाका सभापति विकास थापाले प्रत्येक सदस्य आफ्नो भूमिकामा प्रतिबद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा सदस्यता अपिल समितिका संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरू उमा गौतम, रोज विष्ट, रूपा पुडासैनी, मणिराम दाहाल, काठमाडौँ शाखा पूर्वसभापति ईश्वर पुडासैनी, शाखाका कोषाध्यक्ष नवराज चापागाईं, साथै सदस्यहरू नरेन्द्रमान श्रेष्ठ, रिता अधिकारी, सीता घिमिरे, सरस्वती गुरागाईं, बिएन पाठक, सुशील अधिकारी, परशुराम आचार्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु