global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी कोशी संसदीय दलका नेता आङ्बो चढ्ने गाडीको ठक्करमा युवकको मृत्यु, चालक नियन्त्रणमा

माओवादी कोशी संसदीय दलका नेता आङ्बो चढ्ने गाडीको ठक्करमा युवकको मृत्यु, चालक नियन्त्रणमा

माओवादी कोशी संसदीय दलका नेता आङ्बो चढ्ने गाडीको ठक्करमा युवकको मृत्यु, चालक नियन्त्रणमा

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा एक युवकको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा को १ झ ६५० नम्बरको स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामथान–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १२ः१५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कर्पियोले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पु-याएका थिए । उपचारका क्रममा दिउँसो ३ः१५ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुर्घटना हुँदा नेता आङ्बो स्वयं गाडीमा सवार थिएनन् । ‘गाडी उनका आफन्तलाई लिन जाँदै गरेको समयमा दुर्घटना भएको हो ।’ उनले बताइन् ।

दुर्घटनाका बेला गाडी तीव्र गतिमा रहेको स्थानीयले बताएका छन् । गाडी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनापछि नेता आङ्बोले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति संवेदना प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘दुःखद दुर्घटनामा परी निधन हुनुभएको प्रवेश चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै कानुनी प्रक्रिया र क्षतिपूर्ति उपलब्ध गराउने विषयमा मेरो पूर्ण साथ रहनेछ ।’

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु