गुह्येश्वरी–गौरीघाटमा बर्तालु बढ्न थालेपछि छठघाट थप गर्न माग
वि.सं.२०८२ कात्तिक १२ बुधवार १५:३८
shares
छठ पर्वको अन्तिम दिन मङ्गलबार भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाअर्चना गर्दै भक्तजन । तस्बिर ः रत्न श्रेष्ठ / रासस
छठ पर्वका अवसरमा राजधानीमा भक्तजनको उपस्थिति बढ्न थालेपछि छठघाट बढाउनुपर्ने माग बढ्न थालेको छ । राजधानीमा सबैभन्दा बढी छठका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी–गौरीघाटमा जम्मा भएका थिए । श्री छठ पूजा समिति गौरीघाट–गु्ह्येश्वरीले यस वर्ष छ सय छठघाट निर्माण गरेको थियो ।
छठघाट माग गर्ने भक्तजन बढेपछि सहज व्यवस्थापनमा सास्ती भएको समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिए । पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायलाई छठघाट बढाउन माग गरिएको पनि उनले बताए ।
अर्को वर्ष कम्तीमा पनि सात सय छठघाट निर्माण गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै उनले अधिकार सम्पन्न वाग्मती समितिको कार्यालयअघिको नदी किनारका दायाँबायाँ भागमा छठघाट थप गर्न सकिने धारणा राखे ।
गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनार दायाँबायाँ छठका दिन (कात्तिक १० गते) बेलुकी पाँच लाख भक्तजन पुगेका समितिको अनुमान छ । यो तथ्याङ्क नेपाल टेलिकमको नेटवर्क सहजीकरण भ्यानका प्राविधिकले उपलब्ध गराएको विवरणका आधारमा भनिएको छठ व्यवस्थापनमा सक्रिय भएका निखिल विश्वासले उल्लेख गरे ।
विसं २०६२ मा समिति दर्ता भएर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा छठ पूजा गर्ने वातावरण बनाइएको थियो । समिति दर्ता भएका बेला वर्षमा ३० देखि ४० वटा मात्र छठघाटमा पूजा, आराधना गर्ने गरी भक्तजन जम्मा हुने गर्दथे । त्यसबेला बढीमा दुईदेखि तीन सय श्रद्धालु भक्तजन मात्र यहाँको छठ मेलामा जम्मा हुने गरेका अध्यक्ष सिंहले स्मरण गरे।
नेटवर्क सहजीकरण भ्यानले उक्त क्षेत्रमा चलेका मोबाइल नेटवर्कका आधारमा पाँच लाख बढी भक्तजन गुह्येश्वरी–गौरीघाट क्षेत्रमा पुगेका जानकारी दिएको हो । लाखौँ मानिस नदी किनारमा बसेर छठी माताको पूजा, आराधना गरेपनि त्यस अनुसारका पूर्वाधार नहुँदा भक्तजनलाई असहज भएको थियो ।
छठका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले यस क्षेत्रको पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने बर्तालु धम्मावती कुशवाहले बताइन । बेलुकी अस्ताउँदो सूर्यलाई पूजा, आराधना गरी अर्घ्य दिएर रातभर छठीमाताको आराधना गरेर जागरण बस्ने भक्तजनले शौचालय नपाएर छट्पटिने अवस्थाको अनुभव आफूले गरेको उनको भनाइ छ । लाखौँ भक्तजन उपस्थित हुने भएपछि कम्तीमा पर्याप्त मात्रामा शौचालयको व्यवस्था गरिनुपर्ने अधिकांश भक्तजन माग छ ।
समितिले एउटा छठघाटको एक हजार ५०० लिएर भक्तजनलाई उपलब्ध गराउने गरेकामा केही भक्तजनले भने गुनासो गरेका छन् । पशुपति क्षेत्रमा हुने अन्य पर्वका भक्तजनसँग शुल्क नलिने गरिएकामा छठका बर्तालुसँग किन शुल्क लिइएको भन्ने गुनासो भक्तजनले गर्ने गरेका कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले बताए । उनको अनुसार उक्त शुल्क समितिले उठाउने गरेको छ । कोषले प्रारम्भिक बैठक राखेर सरोकार भएका निकायबीच आवश्यक समन्वय मात्र गर्ने गरेको उनले जानकारी दिए ।

























