गृहपृष्ठ झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन
झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन
डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको छ ।
उत्पादित बिरुवामध्ये एक लाख १० हजार ४७० बिरुवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले जानकारी दिए । वितरित बिरुवामध्ये ६६ हजार २८२ बिरुवा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ बिरुवा व्यक्तिहरू तथा सङ्घ–संस्थाहरूलाई वितरण गरिएको सूचना अधिकारी लिम्बूका अनुसार, ती बिरुवाबाट सामुदायिक वन क्षेत्रमा ४१ दशमलव ४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७ दशमलव ६१ हेक्टर भू–भागमा वृक्षरोपण गरिएको छ । कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेंगा, कुसुम, विजयसाल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गोल्डमोहर, अमला, बकाइनो, जामुन, बडहर, जाडुल, किम्बुलगायत प्रजातिका बिरुवा उत्पादन र वितरण गरेको जनाएको छ ।
हाल झापामा डिभिजन वन कार्यालयअन्तर्गत पाँच वटा नर्सरी सञ्चालनमा रहेका छन् । ती नर्सरीहरूमा करिब ९९ हजार ५३० बिरुवा बाँकी रहेको सूचना अधिकारी लिम्बूले जानकारी दिए ।
प्रकाशित समय : ०९:२१ बजे


















