गृहपृष्ठ वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल
वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल
गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए । ७६ वर्षीया आमा गुनमायाले सोधिन, “कता हिँड्न लागेको कान्छा ?”
गोपालले जवाफ दिएका थिए, “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।” रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिँड्नुभएका गोपालको त्यही संवाद आमासँगको अन्तिम हुन पुग्यो । उनि सोही दिन विर्तामोडमा प्रहरीको गोली लागेर सहिद भए ।
विर्तामोड गएपछि उनि सबैभन्दा पहिला बीएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका थिए । उनले दर्जनौँ युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि जेनजी प्रदर्शनमा जाएका थिए।
गोपालको परिवारमा बुवाआमा, दाजु भाउजु र तीन दिदीबहिनी छन् । दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् । दिदीबहिनीको विवाह भइसकेको छ । उनको काँधमा वृद्धावस्थाका बुवा धनपति र आमा गुनमायाको हेरचाह गर्दै घर सम्हाल्ने जिम्मेवारी थियो ।
उनकी दिदी तुलसा सेढाईंका अनुसार रक्तदान कार्यक्रममा जानुअघि बिहान गोपाल सँधै झैं योग सिकाउन शिविरमा गएका थिए । त्यहाँबाट फर्केपछि उनले गोठमा गएर गाई दुहुनु भयो । त्यसपछि उपचारका लागि बिरामी बुवालाई लिएर शनिश्चरे अस्पताल गए । आमासँगै दही चिउरा खाएर उनि विर्तामोड गएका थिए ।
“आमा बुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो”, आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाइन, “अब हाम्रो कान्छो भाइ कहिल्यै नफर्किने बाटोमा गयो ।”
अपराह्न ४ बजेतिर उनलाई गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएण्डसी हस्पिटलमा पु-याइएको थियो । गोलीले छाती छेडेका कारण उनको तत्कालै निधन भएको चिकित्सकले बताएका थिए ।
गोपाल मिहेनती किसान र नर्सरी व्यवसायी थिए। उनले डेढ बिघा जग्गामा विभिन्न बिरुवाको नर्सरी लगाएका थिए । खेतीपाती र पशुपालनमा उनको रुची थियो । गोबर सोहोर्ने र गाई दुहुने काम उनि आफैँ गरे । बारीमा सुपारी र मरिचको बगान लगाएका थिए। उनको निधनले गाउँ नै शोकमा छ ।
प्रकाशित समय : २१:०६ बजे


















