क्यान्टिनबाट चल्दैछ बागमती प्रदेश सभाको सेवा
वि.सं.२०८२ असोज २ बिहीवार १०:०२
shares

जेन जी पुस्ताको आन्दोलनले बागमती प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ ।
भदौ २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको छ ।
हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन् । सचिवालयका एक अधिकारीका अनुसार कुर्सीदेखि कार्यालय सञ्चालनका अत्यावश्यक सामग्रीसम्म प्रयोग अयोग्य छन् । ‘बैठक चलाउने ठाउँ छैन, कर्मचारी क्यान्टिनमा बसेर काम गर्न बाध्य छन्,’ उनले बताए ।
प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत तथा प्रवक्ता देवेन्द्र सापकोटाले करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसहित पुरानो भवन पनि जलाइएको छ । करिब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको उनले जानकारी दिए ।
गत साउन २७ गते मात्र उद्घाटन भएको नयाँ भवनमा जम्मा चारवटा बैठक मात्रै बसेको अवस्थामा पूर्णरूपमा ध्वस्त भएको हो ।

























