आजदेखि शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर आवेदन दिन पाइने
वि.सं.२०८२ भदौ १९ बिहीवार १०:५७
shares

आज बिहीबारदेखि शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
उक्त कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ।
उक्त कम्पनीले हकप्रद सेयर निष्कासनका लागि गत साउन १६ गते बुकक्लोज गरेको थियो। कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

























