global ime bank Long Banner Ad

गृहपृष्ठ ‘जलस्रोत विधेयक, २०८१’ विधायन व्यवस्थापन समितिबाट परिमार्जनसहित पारित

‘जलस्रोत विधेयक, २०८१’ विधायन व्यवस्थापन समितिबाट परिमार्जनसहित पारित

‘जलस्रोत विधेयक, २०८१’ विधायन व्यवस्थापन समितिबाट परिमार्जनसहित पारित

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१  लाई परिमार्जनसहित पारित गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा आज सिंहदरबारमा बसेको समितिको बैठकले जलस्रोत विधेयक, २०८१ सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।

प्रतिनिधिसभामा उत्पति भएको उक्त विधेयक प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा गहन छलफल भएर २०८१ चैत ११ गते पारित भएसँगै राष्ट्रियसभामा पुगेको थियो । राष्ट्रियसभाअन्तर्गतको विधायन समितिको १४ वटा बैठकमा गहन छलफल पछि उक्त विधेयक पारित भएको हो ।

जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवं व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँट, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्वयका आधारमा सुनिश्चित गर्न उक्त विधेयक ल्याइएको हो ।

बैठकमा ऊर्जामन्त्री खड्काले वृहत छलफल र मेहनतपछि विधेयक पारित भएकामा समितिका सभापतिसहित सबै सदस्यलाई धन्यवाद दिए । विधेयक जनताको सरोकारको विषय भएकाले समितिका सबै सदस्यको धारणालाई समेटेर सर्वसम्मत पारित भएकामा उनले खुसी व्यक्त गरे ।

विसं २०८१ असार १४ गते प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयक प्रतिनिधिसभामा सामान्य छलफल गरी गत वर्ष असार २५ गते दफाबार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा पठाइएको थियो । पूर्वाधार विकास समितिमा नौ महिना छलफलपछि विधेयक पारित भई राष्ट्रियसभामा पुगेको थियो ।

विधायन व्यवस्थापन समितिका सदस्यबाट प्राप्त संशोधन प्रस्ताव, सरोकार भएकाहरू, विज्ञबाट प्राप्त सुझावलाई आधार मानेर विधेयकलाई परिमार्जनसहित पारित गरिएको समितिका सभापति तुलसाकुमारी दाहालले जानकारी दिए ।

उक्त विधेयक साउन २३ गते बस्ने राष्ट्रियसभाको बैठकमा पेस गरिने सभापति दाहालले बताए ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु