हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान
वि.सं.२०८२ साउन ११ आइतवार ११:२३
shares

हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीलेका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ ।
लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए । हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो । वर्षात्मा आएको खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए ।
हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए । चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । उनका अनुसार निरन्तरको पहलपश्चात बेलीब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो ।
पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यतामात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ । यही साउन १३ गतेका दिन औपचारिक रुपमा उद्धघाटन गरी हुम्ला मुगु लिङ्क हुने भएको छ । चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम र्याप थ्रीले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात यो बेलीब्रिज निर्माण भएको छ ।

























