गृहपृष्ठ यमनमा पोलियोको बढ्दो खतरा, खोप अभियान सुरु

यमनमा पोलियोको बढ्दो खतरा, खोप अभियान सुरु

यमनमा पोलियोको बढ्दो खतरा, खोप अभियान सुरु Ashwak Althabibi holding her 8 months son Najranwho was vaccinated as part of the campaign.

यमनले लामो समयदेखि जारी द्वन्द्वका बीच पुनः फैलिन थालेको पोलियो रोग रोकथाम गर्न १३ लाख ५० हजार बालबालिकालाई लक्षित गर्दै तीन दिने खोप अभियान सुरु गरेको छ । शनिबारदेखि सुरु भएको यस अभियानबारे सरकारी सञ्चार माध्यमले जानकारी दिएको हो ।

यो अभियान अन्तर्गत झन्डै सात हजार स्वास्थ्य टोलीले घर–घरमा गएर वा स्थानीय स्वास्थ्य केन्द्रमार्फत बालबालिकालाई मुखबाट दिने पोलियो खोप प्रदान गर्नेछन् । अभियान १२० अत्यधिक जोखिमयुक्त जिल्लामा केन्द्रित छ ।

सरकारको नियन्त्रणमा रहेका १२ क्षेत्रमा सञ्चालन भइरहेको अभियानको आवश्यकता बढ्दो सङ्क्रमण दरले देखाएको छ । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय संस्था र विश्व स्वास्थ्य निकायका अनुसार सन् २०२० यता यमनमा पोलियोका २८२ नयाँ सङ्क्रमण भेटिएका छन्, जसमा ९८ प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । युद्धका कारण सन् २०२३ मा देशभर पोलियो खोप दिने दर ४६ प्रतिशतसम्म झरेको थियो ।

विश्व स्वास्थ्य संगठनको यमन प्रतिनिधि फेरीमा कुलबिबाली जेर्बोले भने,“यमनमा लामो द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र खोपको न्यून पहुँचका कारण पोलियो पुनः फैलिने ठूलो जोखिममा छ । यस्तो अवस्थामा खोप अभियान अत्यावश्यक छ ।”

त्यसैगरी बाल संरक्षण संस्था युनिसेफका प्रतिनिधि पिटर हकिङ्सले भने,“खोप नलगाइएका बालबालिकाका लागि पोलियो अझै गम्भीर खतरा हो। खोपमार्फत हाम्रा बालबालिकालाई सुरक्षित राख्न सकिन्छ।”

यमन सन् २०१४ यता गृहयुद्धमा फसेको छ । विद्रोही समूहले राजधानी साना र देशको उत्तरी भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा छिमेकी मुलुकहरूको गठबन्धनले मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गरेको थियो । युद्धका कारण यमन हाल विश्वकै एक गम्भीर मानवीय संकटमा परेको मुलुक बनेको छ, जहाँ करोडौँ नागरिक भोक, गरिबी र सेवा सुविधाको अभावमा जीवन यापन गरिरहेका छन् ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु